काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे कालोसूचीमा परेको एक मेनपावर कम्पनीलाई सूचीबाट हटाउन पैसा माग्दा पक्राउ परेको खुलेको छ। पाण्डेलाई अख्तियारले बुधबार चाबहिलस्थित एक अपार्टमेन्टबाट पक्राउ गरेको हो।
ठगी गरेको आरोपमा एक मेनपावर कम्पनीलाई बैदेशिक रोजगार सम्बन्धी काम गर्न रोकिएको थियो। तर, सबै पीडितलाई क्षतीपूर्ति दिइसकेपछि कालोसूचीबाट हटाउन कम्पनीले आग्रह गर्दै आएको थियो।
तर, विभागले मानेको थिएन। मेनपावर व्यवसायीले सर्वाेच्च अदालतमा रिट हालेका थिए। सर्वाेच्चले कालोसूचीबाट हटाउन आदेश दिएको थियो। तर, विभागले सूचीबाट हटाउन नमानेपछि मेनपावर सञ्चालकले पैसाको डिल सुरु गरेका थिए।
पाण्डेले १५ लाख रुपैयाँ मागेका थिए। पछि १० लाख रुपैयाँमा सहमति भएको थियो। सहमति भएपछि महानिर्देशक पाण्डेका प्रतिनिधि बनेर विभागका अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्क केसी मंगलबार साँझ बानेश्वरको इन्द्रेणी फुडल्यान्ड पुगेका थिए। मेनपावर सञ्चालकले अख्तियारलाई खबर गरेर १० लाख रुपैयाँ दिएको थियो। रकम लिएलगत्तै अख्तियारले पौडेल र केसीलाई पक्राउ गरेको थियो।
प्रारम्भिक अनुसन्धानमै महानिर्देशक पाण्डेको प्रत्यक्ष निर्देशनमा पैसा लिइएको खुलेपछि उनलाई समेत पक्राउ गरिएको अख्तियारका एक अधिकारीले बताए। ५८ वर्षे उमेरहदका कारण पाण्डेले आगामी महिनादेखि अवकाश पाउँदैछन्। उनी तीन वर्षदेखि विभागमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।