काठमाडौं- एमबिबिएस चिटिङ प्रकरण सम्बन्धी गठित छानबिन समितिले परीक्षा हलमा वितरण गरेको सक्कल प्रश्नपत्र र विद्यार्थीले डिभाइसमार्फत दिएका उत्तरहरुलाई भिडाएर हेर्दा सेट दुईका १४ प्रश्नको उत्तर मात्र मिलेको प्रतिवेदन दिएको छ।
समितिले बुझाएको प्रतिवेदनमा परीक्षाका क्रममा भेटिएका तथ्य र त्यसका प्रमाणहरु सबै समेटिएका छन्। प्रतिवेदन अनुसार प्रवेश परीक्षामा बाहिरिएको भनिएको प्रश्नपत्रमा जम्मा १४ वटा प्रश्न मिल्न गएको छ।
सेट दुईका कुल ६० प्रश्नमध्ये दुई वटा शाब्दिक र १२ वटा अन्य प्रश्न मात्र मिलेको प्रतिवेदनमा उल्लेख छ। परीक्षामा विद्यार्थीलाई बहुवैकल्पिक प्रश्नोत्तर (चार वटा उत्तरमध्ये कुनै एक सही उत्तर छान्ने) सोधिएको थियो। बहुवैकल्पिक प्रश्नपत्रमा रहेका ६० प्रश्नमध्ये १४ वटा मात्र उत्तर मिलेको अवस्थालाई प्रश्नपत्र बाहिरिएको भन्ने प्रमाणित आधार मान्न नमिल्ने भन्दै प्रतिवेदनका विषयमा आज छलफल चल्ने त्रिवि स्रोतले जनायो।
‘बहुवैकल्पिक प्रश्नपत्रमा हचुवाका भरमा त्यसको उत्तर दिँदा पनि २० देखि २५ प्रतिशत मिल्ने सम्भावना हुने हुन्छ। यो विषयमा बृहत् छलफल चल्ने देखिएको छ,’ स्रोतले भन्यो, ‘प्रतिवेदनमा पनि यो विषयमा कानुनी अध्ययन गरेर आवश्यक निर्णय गर्नु भनिएको छ।’
समितिका संयोजक चिन्तामणि पोखरेलले यसअघि प्रहरीले दिएको प्रमाण र विज्ञका रुपमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा ढुण्डीराज पौडेलले दिएको सुझाव र प्रतिवेदनलाई पनि आधार मानेर प्रतिवेदन तयार पारिएको बताए। ‘हामीले सबै प्रमाण हेरेर प्रतिवेदन दिएका छौं,’ उनले भने, ‘अब यो विषयमा त्रिविले आवश्यक अध्ययन गरेर निर्णय गर्नेछ।’
प्रश्नपत्र बाहिरीएपछि यो विषयमा अध्ययन गर्न प्रहरीले अध्ययन गरेको थियो भने विज्ञका रुपमा अध्ययन गर्न मेडिकल काउन्सिललाई पत्र पठाएको थियो। प्रहरीको निवेदनपछि काउन्सिलले डा पौडेललाई विज्ञका रुपमा यो विषयमा अध्ययन गर्न खटाएको थियो। डा पौडेलले कात्तिक १३ गते बुझाएको प्रतिवेदनमा पनि जम्मा १४ वटा मात्र प्रश्नको उत्तर मिलेको प्रतिवेदन बुझाएका थिए।
पोखरेलको संयोजकत्वमा रहेको त्रिवि छानबिन समितिले आफ्नो प्रतिवेदनमा डा पौडेलेले दिएको प्रतिवेदनका कुरा हुबहु सबै समावेश गरेको छ। डा पोखरेल संयोजक रहेको ६ सदस्यीय समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई मंगलबार प्रतिवेदन बुझाएको हो।
गत असोज २८ गते भएको परीक्षामा विद्यार्थीले डिभाइसमार्फत चिट चोरी गरेको फेला परेको थियो। प्रहरीको अपराध महाशाखाबाट खटिएको टोलीले तुरुन्तै पाँच जना विद्यार्थीलाई पक्राउ गर्यो। किस्ट कलेज, बागमती बोर्डिङ, अरुणिमा स्कुल र नामी कलेजबाट डिभाइसहित चिट चोरिरहेका विद्यार्थीहरु सप्तरीका राहुल झा, मोरङका सक्षम भण्डारी, सप्तरीकी शिखा झा, धनुषाका सञ्जय यादव र महोत्तरीका महेन्द्र ठाकुर र राजिव सिंह पक्राउ परे। यसैगरी, अर्काको परीक्षा दिने र दिन लगाउने ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई पनि नियन्त्रणमा लिइयो। त्यस्तै, सेनाको मेडिकल कलेजबाट रौतहटका चिन्ताहरण साह पनि सोही दिन पक्राउ परे। उनीहहरु धनुषा घर भएका रमेशकुमार यादवको परीक्षा दिन गएका थिए। एमएससी अध्ययन गरेका साह पैसा लिएर अर्काको परीक्षा दिन गएका थिए।
चिट चोर्ने विद्यार्थी पक्राउ परेपछि काठमाडौंबाट भाग्दै गरेका गिरोहका नाइकेहरु खोज्न प्रहरी खटियो। गिरोहका नाइके समीरकुमार झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, भारतीय नागरिकद्वय सुविशदेव र सौभरकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो।
प्रहरीले केही दिनपछि यो प्रकरणमा संलग्न डा सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गर्न सफल भयो। आइओएमबाट एमबिबिएस सकेका डा मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनी कुनै पनि अस्पतालमा काम नगरी प्रवेश परीक्षामा भने चलखेल गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीले पक्राउ गरेका अर्का व्यक्ति पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन्। मिश्रले विद्यार्थीको प्रवेशपत्रमा फोटो परिवर्तन गराउँदै आइरहेका थिए। कीर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा कारबाही अघि बढाइएको छ। गिरोहका नाइके झासहित पक्राउ परेकालाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।