काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको ५२ रोपनी जग्गा भाडामा लिएर व्यापारिक भवन बनाइरहेका व्यवसायी दीपक मल्होत्राले सो स्थानमा निर्माण गरेको संरचनाले हवाई उडानलाई असर पार्ने दाबी महालेखा परीक्षकको कार्यालयको छ।
व्यवसायी मल्होत्राले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेटको पूर्वतर्फको जग्गामा व्यावसायिक भवन निर्माण गर्न सम्झौता गरेका थिए। तर सो भवन सम्झौता बमोजिम नभएको तथ्य आज सार्वजनिक गरिएको महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।
मल्होत्राले सम्झौतामा नै नभएको भूमिगत पार्किङ निर्माण समेत गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
स्वीकृत डिजाइनअनुसार भवनको उचाई ३७ फिट मात्र बनाउने पर्ने थियो। तर, मल्होत्राले हवाई उडानमा समेत असर पर्ने गरी ५२ फिट उचाई हुने गरी संरचना बनाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। जसकारण विमानस्थलको हवाई उडान समेत असुरक्षित भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
सम्झौताभन्दा फरक हुने गरी निर्माण कार्य गरेको सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्नसमेत महालेखाले सुझाव दिएको छ।
साथै मल्होत्राले २१ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने संरचना साढे ६ वर्षसम्म निर्माण सम्पन्न नगरी जग्गाको भाडा समेत नतिरेको प्रतिवेदनमा उल्लेख छ।
तर व्यवसायी मल्होत्राले विमानस्थल कार्यालयको सहमतिमै भवनको उचाइ बढाइएको दाबी गरेका छन्। ‘हामीले उता दुई तहको पार्किङ बनाउनुपर्ने भएपछि सहमति अनुरुपले भवनमा तला थप्ने सहमति भएको हो’, उनले भने, ‘जहाँसम्म २१ महिनाभित्र निर्माण सम्पन्न गर्ने कुरा छ, त्यसमा सरकारी प्रक्रिया र भूकम्पजस्ता पक्षहरुले गर्दा काम ढिलो हुन गएको हो। हाम्रो कुनै गल्ती छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।