काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय योगदान दिए। तीनै ब्याटरको उत्कृष्ट प्रदर्शनमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो।
रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतले ६९ रन जोडे। त्यस्तै, देवले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए। ईशान पाण्डेले २९ तथा बसिर अहमदले १७ रनको योगदान दिए।
नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा ओमानका जतिन्दर सिंह र हमाद मिर्जाले पनि अर्धशतकीय पारी खेले। जतिन्दरले ८९ र हमादले ८७ रन बनाए। हसनैन साह ४० रनमा अविजित रहे पनि उनीहरूको प्रयासले ओमानलाई जित दिलाउन सकेन।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे। ओमानका साह फैसलले नेपालको इनिङ्समा पाँच विकेट लिएका थिए।
यस जितसँगै नेपाल जारी लिग–२ शृङ्खलामा १४औँ जित निकाल्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। नेपालले ३६ खेलबाट १४ जित, २० हार र दुई बराबरीसहित ३० अंक जोडेको छ। जारी शृङ्खलामा यो नेपालको तेस्रो जित हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।