काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि आज ४५ जिल्लाका निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन कार्य भइरहेको छ।
मंसिर २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि नै मनोनयन दर्ता सुरु भएको हो। यो क्रम बेलुका ५ बजेसम्म जारी रहनेछ। विभिन्न दलका उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराइरहेका छन्।
कतिपय उम्मेदवार जुलुससहित मनोनयनपत्र दर्ता गराउन गइरहेका छन् भने कतिपय साधारण शैली पुगे। काठमाडौं क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले भने फरक तरिकाले उम्मेदवारी दर्ता गराएका छन्। उनीसँग न नेता कार्यकर्ताको भिड थियो न त गलामा माला। सामान्य सुटमा गएका उनले उम्मेदवारी दर्ता गराए र फर्किए।

नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका गगन थापाको साथमा भने कार्यकर्ताको ठूलो भिड लाग्यो। सो क्रममा सुरक्षा व्यवस्था मिलाउन ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए।

एमालेबाट काठमाडौं २ बाट उम्मेदवार बनेका माधवकुमार नेपाल भने गलाभरि सयपत्री माला र खदासहित निर्वाचन कार्यालय पुगेका थिए।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।