काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने जनाएको छ।
नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग आज भएको अन्तरक्रियामा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
अन्तरक्रियामा भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गरे। पुनःनिर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउँदै उनले संगठनात्मक र नीतिगत चरण सकिएकाले अब तीव्र रूपमा कार्यान्वयन गर्न सकिने बताए।
विकास साझेदार संस्थाका प्रतिनिधिले पनि पुनःनिर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारत लगायतका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका थिए।
सो कार्यक्रममा प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारका तर्फबाट बिदाइ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।