काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताकाे थाेरै मात्र पूँजी सङ्कलन गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन्।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतकाे शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत कार्यक्रमअन्तर्गत त्रिशूली 'बी’ जलविद्युत आयाेजनाको शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए।
उनले भने, 'नेपाल ऊर्जाको धनी देश हो। पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ। यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु।'
प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएर सेयरको शुभारम्भ गरेका थिए। प्रधानमन्त्री ओलीले सेयरमा लगानी गरेकाे यो पहिलोपटक हो।
जनताको जलविद्युत कार्यक्रम गत फागुन २ गते उद्घाटन भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।