काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरु अन्तिम उम्मेदवार छान्दै गर्दा सर्वोच्च अदालतमा भने निर्वाचन रोक्न माग गर्दै निवेदन आउन थालेका छन्।
राष्ट्रिय जनता पार्टीका सह-महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमा अन्तरिम आदेश नभएपछि अधिवक्ताहरु सर्वोच्चमा नयाँ रिट लिएर पुगेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीका अनुसार, निर्वाचन रोक्न माग गर्दै हालसम्म एकै प्रकृतिका तीन वटा रिट परेका छन्।
सतिष अग्रवाल सहित विभिन्न नाममा रिट आए पनि सर्वोच्च प्रशासनले एकै प्रकृतिका रिट दर्ता नहुने भन्दै नयाँ तथ्य ल्याउनू भनी फर्काएको प्रवक्ता पन्थीले बताए।
'निर्वाचन सम्बन्धी विवाद सर्वोच्चमै सुनुवाइको क्रममा रहेकाले उनीहरुलाई नयाँ तथ्यसहित आएमा मात्र दर्ता गर्ने जानकारी गराएर फर्काएका छौं' उनले भने, 'दरपीठ विरुद्ध इजलासमा निवेदन दर्ता गरेमा सुनुवाइ होला।'
सर्वोच्च अदालतमा विचाराधीन विषयमा एकै पटकमा धेरै मुद्दा दर्ता नगर्ने विभिन्न समयमा निर्माण भएको नजीरका आधारमा सर्वोच्च प्रशासनले फिर्ता पठाएको हो।
यसअघि राजपाका नेता शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग-अलग हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिटमा संयुक्त इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै समानुपातिकतर्फ मतपत्र छाप्न सुरु भइसकेको भन्दै प्रत्यक्षतर्फ कानुन अनुसार आयोगले विचार गर्ने भनेको थियो।
लगत्तै शुक्लाले नै दर्ता गरेको अवहेलना मुद्दामा सर्वोच्चले बाध्यकारी कानुनी व्यवस्था पालना गर्ने विषयमा आयोगको प्रगति विवरण माग गरेको थियो।
उक्त निवेदनमा जारी भएको आदेशलाई पालना गर्दै निर्वाचन आयोगले आइतबार प्रदेश र प्रतिनिधिसभामा छुट्टाछुट्टै मतपत्र बनाउने निर्णय गरेको थियो । आयोगले यस्तो निर्णय गरेको दिनमै निर्वाचन रोक्न सर्वोच्चमा रिट आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।