काठमाडौं- सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ अलग–अलग मतपत्र बनाउने निर्णय गरेको छ।
आइतबार बसेको आयुक्तहरुको वैठकले मंसिरमा हुने दुवै तहको चुनावको प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्ने निर्णय गरेको छ। आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्च अदालतको आदेशका कारण अब छुट्टछुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको हो। ‘सर्वोच्चको निर्णयलाई सम्मान गर्दै मतपत्र छाप्ने निर्णयमा हामी पुगेका छौ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, 'अदालतको आदेशलाई सम्मान गर्दै भनेको अलग-अलग मतपत्र छाप्ने निर्णय भएको हो।'
मतपत्र छाप्ने विषयले निर्वाचनको मितिलाई भने असर नगर्ने उनले बताए। 'निर्वाचन तोकिएकै मितिमा हुन्छ। त्यसमा आयोग सबैलाई ढुक्क हुन आग्रह गर्दछ,’ उनले भने।
सर्वोच्च अदालतले कात्तिक १ गते प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने विषयमा ‘गम्भीरतापूर्वक विचार गर्ने नै छ’ भने पनि बुधबार छुट्टै मतपत्र छाप्न बाध्य पार्नेगरी प्रगति विवरण मागेपछि आयोग यो निर्णयमा पुगेको हो।
सर्वोच्चको आदेशपछि केही दिनदेखि आयोगले यो विषयमा औपचारिक अनऔपचारिक छलफल गर्दै आएको थियो। सर्वोच्चको औपचारिकपत्र भने शनिबार मात्र आयोग पुगेको थियो। आइतबार महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।