काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बहुवर्षीय ठूला आयोजनामा रमक अभावका कारण समस्या आएको बताएका छन्। सिहंदरबारमा बुधबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले बहुवर्षीय ठूला आयोजनको प्रगतिको विषयमा सांसदहरुको प्रश्नमा यस्तो जवाफ दिएका हुन्।
मन्त्री महासेठले संघअन्तर्गत रहेका २९ वटै ठूला आयोजनामा रकम अभाव भएको बताएको छन्। समितिकै छलफलमा मन्त्री महासेठले रकमसँगसँगै कर्मचारी अभावका कारण पनि काममा समस्या आएको बताएका छन्। आयोजनाका लागि विनियोजन भएको रकम नै पुग्न छाडेको मन्त्री महासेठको भनाइ छ।
‘१२ हजार सडक आयोजना संघमा रहेकोमा ती सडकहरुमा कर्मचारी छैनन्। अहिले रहेका सडक डिभिजन कार्यालय पर्याप्त छैनन्। अहिले १९ वटा रहेकोमा हामीले ७ वटा थप डिभिजन कार्यालय खोल्न तयारी गरिरहेका छौ’, मन्त्री महासेठले भने।
मन्त्रालय अन्तर्गत २६ अर्ब रुपैयाँ दायित्व रहे पनि हामीले त्यसलाई तीन वर्षमा सक्नेगरी काम गरिरहेको मन्त्री महासेठको भनाइ छ।
छलफलमा सांसद गणेश पहाडीले आयोजना सघं, प्रदेश र स्थानीय तहमा विभाजन भएकाले प्रदेशले बहुवर्षीय आयोजनामा बजेट नछुट्याइएको बताए।
‘प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेका छैनन्’, उनले भने, ‘प्रदेश सरकारले त टोले सडकलाई मात्र बजेट विनियोजन गर्दै काम गरिरहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।