काठमाडौं– नदीमा हामफालेका दुई जनाको सकुशल उद्धार गर्ने दुई प्रहरी कर्मचारीलाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरिएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशि जनही ५ हजार ५५५ रुपैयाँ रहेको छ।
प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत चौधरीले गत भदौ २३ गते मधुवन नगरपालिका–३ कोठियाघाटस्थित पुलबाट कर्णाली नदीमा हामफालेकी राजापुरकी १६ वर्षीया बालिकाको सकुशल उद्धार गरेका थिए।
त्यस्तै, दार्चुलामा कार्यरत महराले महाकाली नदीमा हामफालेकी एक महिलाको ज्यान जोगाएका थिए।
साहसिक तथा जोखिमपूर्ण अवस्थामा मानवीय उद्धार कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गरिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।