काठमाडौं– पञ्चेश्वर बहुउद्देश्शीय परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) लाई अन्तिम रुप दिन गठित विज्ञ समूहको तेश्रो बैठक बुधबारदेखि काठमाडांैमा बस्दैछ । बैठकले नेपाल र भारतको संयुक्त लगानीमा बन्न लागेको सो परियोजना निर्माणमा कसले कति लगानी गर्ने र पानीको हिस्सा बाँटफाँटका विषयलाई छलफलको प्रमुख एजेन्डा बनाएको छ।
महाकालीको पानी दुई देशबीच बराबर हिस्सा गर्ने वा बराबर हिस्सा नपाए नेपालले क्षतिपूर्ति पाउनुपर्ने भन्दै नेपालले अडान राखेपछि विज्ञ समूहको दोस्रो बैठकमा ‘माइन्युट’ भएको थियो। तर सो प्रस्तावमा हस्ताक्षर नभई टुंगिएको थियो।
नेपालको तर्फबाट विज्ञ समूहको नेतृत्व गरेका जल तथा उर्जा आयोगका सचिव देवेन्द्र कार्कीका अनुसार तेस्रो बैठकले त्यही विषयलाई प्रमुख मुद्दा बनाएर छलफल गर्नेछ। ‘विज्ञ समूहको दोश्रो बैठकमा जे कुरामा असहमति भएको थियो हामीले त्यही बिन्दुबाट छलफल सुुरु गर्नेछौं,’ सचिव कार्कीले भने।
यसैबीच, प्रधानमन्त्री ओलीले पानी बाँटफाँट र लाभका आधारमा लगानीको मुद्दालाई विज्ञ समूहको तेस्रो बैठकमा पनि निरन्तरता दिन र नेपालको अहित हुने कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले महाकाली नदिको पानीमा नेपाल र भारतको बराबर हिस्सा हुनुपर्ने बताएका हुन्। छलफलको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नेपालको अहित हुने गरी कुनै सम्झौता नगर्न विज्ञ समूहलाई निर्देशन दिएको कार्कीले जानकारी दिए।
पञ्चेश्वर परियोजनाबाट उत्पादन हुने विद्युत र पानीको समान उपभोग र सोही आधारमा लगानी गर्ने विषय दुई देशबीचको सबैभन्दा पेचिलो मुद्दा हो।
भारतले तल्लो शारदा नहरमा उसले उपभोग गरिरहेको पानीलाई घटाएर मात्र बाँकी पानी आधा–आधा गर्नुपर्ने अडान राख्दै आएको छ भने नेपालले त्यसलाई स्वीकारेको छैन। महाकाली सन्धिअनुसार पानी आधा–आधा गर्ने विषयलाई भने भारतले अस्वीकार गर्दै आएको छ।
नेपालमा कैलाली र कञ्चनपुर जिल्लामा मात्र सिँचाइ सुविधा पाउने भएपनि भारतमा करिब १७ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। सोही कारण नेपालले तल्लो शारदाको अतिरिक्त सहुलियत चाहिने तथा भारतले बढी प्रयोग गर्ने पानीको क्षतिपूर्ति नेपालले पाउनुपर्ने अडान राख्दै आएको छ।
३ हजार ८ सय ५० हेक्टर जमीन नेपालको र ९ हजार ५ सय ५० हेक्टर भारत को जमीनमा बन्ने भनिएको परियोजनाबाट सिंचाईमा अहिले पनि नेपालको भन्दा धेरै लाभ लिईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।