काठमाडौं– मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ।
यही असोज २३ गते रातिदेखि मतगणना सुरु भएको थियो।
लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जनाएका छन्।
सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले बताए।
अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो।
सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो भने अन्य पदको मतगणना असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा भएको थियो।
निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक भने सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको छ।
झन्डै २५ समूह बनाएर गणना गरिएको थियो।
यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको उनले बताए। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था मिलाइएको थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको निर्वाचन समितिका सदस्यसचिव कटुवालको भनाइ छ।
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक त्यसपछि बस्नेछ, जसले स्थानीय तहको निर्वाचनको तयारी र रणनीतिसम्बन्धी खाका तयार गर्ने विषयमा छलफल गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।