काठमाडौं- राष्ट्रिय योजना आयोगले १५औं पञ्चवर्षीय आवधिक योजनाको तयारी गरिरहँदा चौधौं आवधिक योजनाले कृषि क्षेत्रमा लिएका लक्ष्यहरू भने अपूरै देखिएका छन्।
दिगो तथा व्यावसायिक विकासद्वारा कृषि क्षेत्रलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने चौधौं योजनाको लक्ष्य प्राप्त हुन नसकेको तथ्याङ्कले देखाएको छ। अझ महत्वपूर्ण कुरा के भने कृषिक्षेत्रमा आश्रित जनसंख्या र कुल ग्रार्हस्थ्य उत्पादनमा गर्ने योगदान पनि ५ वर्षअघिको तुलना घट्दो क्रममा देखिएको छ।
चौंधो आवधिक योजना लागु भएको आधार वर्ष २०७२/७३ मा धान ४२ लाख ९९ हजार मेट्रिक टन, मकै २२ लाख ३१ हजार मेट्रिक टन, गहुँ १५ लाख ७० हजार मेट्रिक टन, र दलहन ३ लाख ६० हजार मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ। तरकारी ३५ लाख ८० हजार मेट्रिक टन, फलफूल १० लाख ९६ हजार मेट्रिक टन, आलु २८ लाख ५० हजार मेट्रिक टन र माछा ७८ हजार मेट्रिक टन वार्षिक उत्पादन भएको थियो।
चौंधौं पञ्चवर्षीय योजनाले आव २०७५/७६ मा धान ५५ लाख ६१ हजार मेट्रिक टन, मकै २६ लाख ९६ हजार मेट्रिक टन, गहुँ २२ लाख १९ हजार मेट्रिक टन, र दलहन ४ लाख ३८ हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखेको थियो।
तरकारी ४० लाख मेट्रि टन, फलफूल १४ लाख ८० हजार मेट्रिक टन, आलु ३२ लाख ५० हजार मेट्रिक टन र माछा १ लाख ३ हजार मेट्रिक टन वार्षिक उत्पादन गर्ने लक्ष्य थियो।
तर, आवधिक योजनाको अन्तिम वर्ष चालु आर्थिक वर्षसम्ममा धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन, मकै २५ लाख ९६ हजार मेट्रिक टन, गहुँ १९ लाख ४९ हजार मेट्रिक टन र दलहन ३ लाख ३८ हजार मेट्रिक टन बराबर वार्षिक उत्पादन रहेको देखिन्छ।
चौधौं योजनाको लक्ष्यअनुसार यसवर्ष आलुको उत्पादन ३२ लाख ५० हजार मेट्रिक टन पुगिसक्नुपर्ने थियो। तर ३० लाख ८८ हजार मेट्रिक टन बराबर मात्रै उत्पादन भएको छ। फलफूलको उत्पादन १४ लाख ८० हजार मेट्रिक टन पुगिसक्नुपर्नेमा १० लाख १० हजार मेट्रिक टनमै सीमित भएको छ।
तरकारी र माछाको उत्पादनमा भने चौंधौं योजनाको लक्ष्य भेटिएको देखिन्छ। २०७५/७६ सम्ममा ४० लाख मेट्रिक टन तरकारी वार्षिक उत्पादनको लक्ष्य लिएकोमा ४० लाख ९९ हजार मेट्रिक टन पुगेको देखिन्छ। माछाको उत्पादनमा ९० लाख मेट्रिक टन उत्पादन लक्ष्य राखेकोमा १ लाख ३ हजार मेट्रिक टन पुगेको देखिन्छ।
१५औं योजनाको लक्ष्य
योजना आयोगले अहिले १५औं पञ्चवर्षीय योजना निर्माणको काम द्रुत गतिमा अघि बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोगलाई बुझाएको ५ वर्षे मार्गचित्रमा कृषि उत्पादनमा उल्लेख्य वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान बढाउने महत्वाकांक्षी योजना अघि सारिएको छ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा धानको उत्पादन ६१ लाख ७३ हजार मेट्रिक टन, मकैको उत्पादन २९ लाख २७ हजार मेट्रिक टन, र गहुँको उत्पादन २४ लाख २० हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखिएको छ।
यसैगरी, तरकारीको उत्पादन ४५ लाख मेट्रिक टन, आलुको उत्पादन ३४ लाख ९८ हजार मेट्रिक टन र फलफूलको उत्पादन १५ लाख १० हजार मेट्रिक टन पुर्याउने लक्ष्य मन्त्रालयको छ।
दलहनको उत्पादन ५ लाख १२ हजार मेट्रिक टन पुर्याउने लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।