काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशिनेको जमात देखेर आफूलाई नै कृषि पेसामा फर्किउँ कि जस्तो लाग्ने गरेको बताएका छन्।
भक्तपुरको गठ्ठाघरस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो कुरा बताएका हुन्।
कृषिमा पर्याप्त संभावना रहेको बताएका उनले भने, 'स्वदेशको संभाव्यता नहेरी विदेशिनेको जमात देखेर आफैं कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको छ। कहिले काही त म परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर आफै खेती गर्न हिँडु कि भन्या जस्तो पनि हुन्छ। सुनको टुक्रा हामी संगै छ। हामीसंग जति प्राकृतिक साधन स्रोत अन्त कतै पनि छैन। फेरी हामी नै गरिब। कहीँ न कहीँ हाम्रो सोचमा परिर्वतन ल्याउनु जरुरी छ। र यसको नेतृत्व राज्यलेनै गर्नुपर्छ।'
कृषिमा आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै उनले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दुरी घटाई उत्पादन बढाउने विषय महत्वपुर्ण रहेको भन्दै अध्यक्ष प्रचण्डले कृषिलाई उद्योग र व्यवसायका रुपमा विकास गर्नु जरुरी रहेको उल्लेख गरेका थिए।
'शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्छ। कृषिमा आधारित बजेट नाम मात्रैको हुने गरेको छ,' उनले भने, 'कृषिमा आधारित उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी श्रृजनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पुरा हुन सक्दैन।'
शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उहाँले प्रविधिमैत्री शिक्षा नीतिमा जोड दिएका दाहालले भने, 'विदेशिने युवालाई मुलुकभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमूल परिर्वतन अत्यावश्यक छ।'
प्रविधि मैत्री, जीवन उपयोगी शिक्षा नीति नभएका कारण उच्च शिक्षा आर्जन गरेपछि विदेश नै जाने प्रवृति देखिएको भन्दै उनले कृषि क्षेत्रमा रहेको प्रचुर संभावनालाई मध्यनजर गर्दे विदेश जान भन्दा गाउमै बसेर श्रृजनात्मक काम गर्न युवालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।