काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनाका लागि बाह्य सहयोग लिँदा सचेत रहन आग्रह गरेका छन्।
विजया दशमीको शुभकामना सन्देश जारी गर्दै उनले बाह्य सहयोग स्वीकार गर्दा कूटनीतिक चातुर्यता अपनाउन आग्रह गरेका हुन्।
‘यस किसिमको कार्यमा बाह्य सहयोग लिंदा देशको स्वाभिमान, स्थानीय परम्परा जोगिने गरि कुटनैतिक चातुयता अपनाउनु पर्ने हुन्छ,’ शाहले आफ्नो सन्देशमा भनेका छन्।
उनले भोटेकोसीमा आएको बाढी र अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको उल्लेख गर्दै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नेपाल साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचान भएको देश रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिएका छन्।
शुभकामना सन्देशमा पूर्वराजा शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र अन्योलमा रहेको टिप्पणी गरेका छन्। उनले प्रजातान्त्रिक आधार बलियो बनाउँदै अर्थतन्त्र उकास्न र राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउनुपर्ने बताएका छन्।
उनले देशका नागरिकबीच भाइचारा, सद्भाव र एकता कायम गर्दै आत्मनिर्भर, सबल र सक्षम नेपाल निर्माण गर्ने सोच विकास हुनुपर्ने पनि उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।