काठमाडौं- वैदेशिक व्यापार वृद्धि भएसँगै व्यापार घाटा पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा व्यापार घाटा साढे ६ खर्ब नाँघेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्ममा मुलुकले ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ।
यस अवधिमा मुलुकले कुल ७ खर्ब ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको विभागको तथ्यांकमा उल्लेख छ। यस अवधिमा ७ खर्ब २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको आयात र ४५ अर्ब ४१ करोड रुपैयाँको निर्यात गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १३ अर्ब रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
९५ रुपैयाँको आयात हुँदा ५ रुपैयाँको मात्र निर्यात
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापार अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। कुल वैदेशिक व्यापारमा ९४ दशलमव १ प्रतिशत आयात र ५ दशमलव ९ प्रतिशत निर्यातको योगदान रहेको छ।
गत आर्थिक वर्षको सोही अधिको तुलनामा कुल वैदेशीक व्यापारमा आयातको योगदान १ दशमलव शुन्य ८ प्रतिशतले बढेको छ भने निर्यातको योगदान १४ दशमलव ६० प्रतिशतले घटेको छ ।
आयातमा वीरगञ्ज र निर्यातमा विराटनगर ठुलो नाका
सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलव ३५ प्रतिशत आयात र १८ दशमलव ६१ प्रतिशत निर्यात भएको छ। समीक्षा अवधिमा वीरगञ्ज नाकाबाट २ खर्ब ४८ अर्ब ६७ करोड ४३ लाख रुपैयाँको आयात भएकोमा ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
धेरै आयात भएका भन्सार नाकाहरुमा भैरहवा १ खर्ब २२ अर्ब सहित दोस्रो र ८७ अर्ब २ करोड रुपैयाँको आयात गर्दै विराटनगर तेस्रो स्थानमा छ।
निर्याततर्फ भने सबैभन्दा बढी विराटनगर नाकाबाट कुल निर्यातको २९ दशलमव १७ प्रतिशत निर्यात भएको छ। यस अवधिमा उक्त नाकाबाट १३ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। निर्यात बढी भएका भन्सार नाकाहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगञ्ज भन्सार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट ८६ अर्ब ३० करोड ८ लाख रुपैयाँ बराबरको आयात र १२ अर्ब २९ करोड ८३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। उक्त अनुपात मुलुकको कुल वैदेशिक व्यापारमा निर्यात २७ दशमलव शून्य ८ प्रतिशत र आयातमा ११ दशमलव ९२ प्रतिशत हो।
सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात
यस अवधिमा आयाततर्फ ईन्धन, फलाम तथा स्टीलका उत्पादन आयातमा झन्डै दोब्बरले वृद्धि भएको छ। ६ महिना अवधिमा मात्रै १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। नेपालले आयात गर्ने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा रहेको छ।
पेट्रोलियम पदार्थबाहेक नेपालले उच्च आयात गर्ने वस्तुहरुमा फलाम र फलामका उत्पादन ७८ अर्ब ६७ करोड, मेसिनरी सामान ५९ अर्ब २ करोड, ईलेक्ट्रिकल सामान ४२ अर्ब ९४ करोड रुपैयाँ र सवारी साधन ५० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ।
भारतबाट यातायातका साधनहरु, मेसिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। चीनबाट हुने आयातमा भने दुरसञ्चारका सामग्रीहरु, विद्युतीय उपकरणहरू, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलजस्ता वस्तुहरु प्रमुख रहेका छन्। युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुब्रिकेटिङ तेल र चकलेट जस्ता वस्तुहरू ठुलो मात्रामा आयात भएको देखिन्छ।
यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरु मुख्य छन्।
त्यस्तै हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना सल, जडिबुटी आदि वस्तुहरुको पनि निर्यात भएको छ।
विगत ६ वर्षदेखि वैदेशिक व्यापार र व्यापार घाटाको स्थिति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।