काठमाडौं- एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यवद्धता जनाएको छ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको र माग पूरा नभए ग्यास बिक्रीवितरण ठप्प पार्ने चेतावनी दिएका छन्।
यसअघि गत बिहीबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु पुरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए। त्यसको दुई दिनमै बिक्रेताहरुले अनामनगरस्थित मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गरेर बिक्रीवितरण नै ठप्प पार्ने चेतावनी दिएका हुन्।
‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा हामी देशैभरी बिक्रेताहरुको समर्थन रहेको छ’, संघका महासचिव विनोद काफ्लेले भने, ‘हाम्रा मागहरु पुरा नभए फागुन ३० गते ग्यास बिक्रीवितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउँछौं।’
संघले ६ बुँदामा आफ्ना मागहरु अघि सारेको छ। संघका मागहरुमा उद्योगीहरुको माग पुरा गर्नुपर्ने, बिक्रेता प्रमाणीकरण प्रक्रिया तत्काल सुरु गर्नु पर्ने, बिक्रेता, वितरकको कमिसन मूल्यको कम्तीमा ६ प्रतिशत हुनुपर्ने लगायत छन्।
यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्ने (व्यक्तिहरु)को बीमा गरिनुपर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ।
संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रीवितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको दाबी गरे। सरकारले लामो समयसम्म पनि आफ्ना मागहरुका सम्बन्धमा सुनुवाइ नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको अध्यक्ष श्रेष्ठले बताए।
अझै पनि सरकारले जायज मागहरु पुरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।