काठमाडौं- चीन सरकारको सहयोगमा निर्माणाधीन कोटेश्वर–कलंकी सडक कालोपत्र गर्न सुरु भएको छ । आठ लेनको १०.३९ किलोमिटर लामो सडकमा बीचको मुख्य ट्र्याक बाहेक दायाँ-बायाँका दुई-दुई लेनका ट्र्याकमा कालोपत्र गर्न थालिएको हो।

काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार, पहिलो चरणमा कोटेश्वरदेखि एकान्तकुनासम्मको ५ किलोमिटर सडक कालोपत्र गरिने र त्यसपछि बाँकी खण्डको काम अगाडि बढाइनेछ । शुक्रबार कोटेश्वर, बालकुमारी क्षेत्रमा कालोपत्र भइरहेको छ।

आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले दायाँ–बायाँ ट्र्याक निर्माणको काम फागुनभित्र सक्नेगरी काम अगाडि बढाइएको बताए । मुख्य ट्र्याकको काम भने फागुनबाट सुरु गर्ने र पाँच महिनाभित्र सक्ने योजना रहेको उनले जानकारी दिए । सडक निर्माणमा चिनियाँ प्राविधिक र उनीहरुकै डिजाइनका आधारमा भइरहेको सम्पूर्ण संरचना निर्माणको काम चीनको संघाई कन्स्ट्रक्शन ग्रुप कम्पनी लिमिटेडले गरिरहेको छ।

आठ लेनको सडकमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक हुने र बाँकी चार लेनमा सडकका दुवैतर्फ दुई-दुई लेनका सहायक सडक हुनेछन् । उक्त सडकमा साइकल लेन र २.५ मिटरको फुटपाथ समेत हुने परियोजनाले जनाएको छ । यसका साथै कलंकी चोकमा ८ सय मिटर लामो भूमिगत सडक पनि निर्माण भइरहेको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।