काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी मुद्दाका फाइल झिकाउन आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार दुवै मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको हो।
सर्वोच्चको आदेशअनुसार नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत काठमाडौंसँग माग गरिएको छ।
त्यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश दिइएको छ।
आदेशमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको मिसिल विशेष अदालतबाट र बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिसिल उच्च अदालत पाटनबाट झिकाई इजलाससमक्ष पेस गर्न भनिएको छ।
यसैगरी, सर्वोच्च अदालतमा विचाराधीन अन्य दुई निवेदनसँग सम्बन्धित आदेश बदरको मागसमेत मिसिलमा संलग्न गरी हेर्न आदेश दिइएको छ।
सर्वोच्च अदालतको यो आदेशसँगै दीपक भट्ट प्रतिवादी रहेका दुवै मुद्दाका न्यायिक प्रक्रिया र तल्ला अदालतका निर्णय तथा प्रमाणको अध्ययन गर्ने बाटो खुलेको छ।
भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको बन्दीको निवेदन यसअघि सुवेदीकै इजलासले कात्तिक १३ गते सुनुवाइ नगरी फर्काएको थियो ।
त्यसबेला भट्टको निवेदनसँगै विशेषको आदेशविरुद्धको १७ नम्बरको निवेदन पनि पेस भएको भए साथै राखेर सुनुवाइ गर्नुपर्ने भन्दै हेर्न अस्वीकार गरिएको थियो । तर बुधबार उनै सुवेदीको इजलासमा पेसी तोकिएको हो । ३ असारमा भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई एकै दिन पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध असोज ७ गते सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो ।
सोही बन्दीको निवेदनमा चलखेल भएको भन्दै फिक्सर इनाम सापकोटासहित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छानबिनमा तानिएका छन् । यही विवादमा सर्वोच्चका न्यायाधीशहरू पनि विवादमा तानिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।