काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा आज बिहान छठ पर्वको समापन भएको छ।
चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ।

व्रतालुहरुले आफ्नो नजिक रहेको नदी, पोखरीमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई घरमा बनाइएका विशेष पकवानसहित सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।
अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो। धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

राजधानीका विभिन्न नदी तथा पोखरीमा पनि छठको विशेष रौनक देख्न सकिन्थ्यो। उपत्यकामा बागमती नदी किनारका थापाथली, गुह्येश्वरी लगायतका ठाउँमा छठको समापनमा यस्तो देखियो-











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।