काठमाडाैं- राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको बताएकी छिन्।
राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।
नेपाल उद्यमशीलता शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले नवीन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि स्मरण गराइन्।
राष्ट्रपति भण्डारीले मुलुकमा नागरिकलाई सेवा, सुविधा पुर्याउने उद्देश्यका साथ लक्ष्य, योजना र कार्यक्रम सुरु भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न युवालाई उद्यमशील बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे। उनले आफ्नोभन्दा पनि राष्ट्र र जनताको पक्षमा उभिएर मुलुकको समृद्धिको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यकता औंल्याइन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उद्यमशीलताप्रति आकर्षित गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे। युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि सम्मेलनले सघाउ पुर्याउने विश्वास लिइएको पनि उनको भनाइ थियो।
नेपाल उद्योग परिसंघको संयोजनमा आयोजना गरिएको सम्मेलनमा देशभरका उद्यमीहरु सहभागी भएका छन्। सम्मेलनले नेपालमा उद्यम विकास, लगानी र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।