काठमाडौं– यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको हो।
महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन नेपालबाट बाहिरिन सुरु भएको थियो। पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते भए पनि यस वर्ष भने सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको हो।
मनसुन बाहिरिएसँगै वर्षायामको औपचारिक अन्त्य भएको मानिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आउन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित मौसमी परिवर्तनलाई ध्यानमा राख्दै पछिल्लो मौसम पूर्वानुमान तथा आधिकारिक सूचनाबारे जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।