



काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई चर्को दबाबमा राख्ने गरी अभिव्यक्ति दिंदै आएका सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनि सार्वजनिक अडियोबारे प्रहरीले छानबिन थालेको छ ।
सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार सार्वजनिक भएको थियो । यसबारे रास्वपाले पनि अन्तरिक छानबिन थालेको छ ।
मंगलबार रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ भने पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको र सबै पक्षको राय लिएर निष्कर्षमा पुग्ने जनाइएको छ ।
अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ ।
प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम भइरहेको जानकारी नेपाललाइभलाई दिए ।
'अडियो बारे बुझ्ने काम सुरु भएको छ । यस विषयमा उजुरी आएमा प्रहरीले गम्भीरतासाथ हेर्छ । अदालतमा रहेका अन्य कुरा अदालतले नै हेर्ने विषय भयो' काफ्लेले मंगलबार साँझ भने ।
सुनारलाई पक्राउ गरेर अनुसन्धान गर्न भने पीडित महिलाले प्रहरी समक्ष जाहेरी दिनुपर्छ ।
हालसम्म अडियोमा जोडिएकी महिलाले प्रहरी कार्यालयमा उजुरी दिएकी छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।