काठमाडौं –सत्तारुढ दल रास्वपाका सांसद मधुकुमार चौलागाईंले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारमाथि प्रश्न उठाएका छन्।
उनले सुनारमाथि महिलामाथि घरेलु हिंसाको आरोप रहेको सांसद चौलागाईंले बताए।
उनले भने, ‘उक्त मुद्दामा ललितपुर प्रहरीसम्म गएर मिलापत्र पनि गरेको, फौजदारी अभियोगमा मिलापत्र पनि गरेको भन्ने आरोप छ। तपाईँ दलित अभियन्ताको रूपमा काम गर्दा करोडौँ रुपैयाँ असुल गर्नुभयो। नेपाल प्रहरीको डीआईजीबाट कसैलाई एआईजीमा बढुवा गर्दिन्छौँ भनेर पैसा असुल गर्नुभयो।’
उनले कसैलाई सांसद पद मिलाइदिन्छु भनेर समेत रकम असुलीको आरोप रहेको बताए। यी आरोपबारे क्लियर गरिदिन माग गरे।
यस्तै, सुनार हाम्रो नेपाल पार्टीमा केन्द्रीय सदस्यको रूपमा आबद्ध रहेको कुरा पनि उठाए। उनले हाम्रो नेपाल पार्टीसँगको आबद्धता तोड्नुभएको छ तोड्नुभयो ? भन्दै प्रश्न गरे। यस्तै, उनले प्रस्तावित राजदूत सुनार जर्मनबाट डिपोर्ट गरेर पठाएको गम्भीर आरोप समेत रहेको बताए ।
तर उनले आरोप अस्वीकार गर्दै आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने एउटा अभियन्ता भएको जिकिर गरे । उनले आफूले महिला हिंसाविरुद्ध दिएका तालिमका बारेमा पत्रपत्रिकाले गरेको कभरेज समेत देखाए । उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरे ।
साउदी अरबमा कामदारका लागि आवश्यक आवासीय अनुमतिपत्र (इकामा) नपाउँदा पनि नेपालीहरू समस्यामा पर्ने गरेको उनले बताए । त्यस्तै, मृत्यु भएका नेपालीको शव व्यवस्थापन र परिवारले शव प्राप्त गर्ने प्रक्रियामा समेत समस्या रहेको उनले उल्लेख गरे ।
‘धेरै मृतक शरीरहरू नेपाल आउने गरेको देख्छौँ। १४ दिनभित्र क्लेम नगरेको खण्डमा त्यहाँको सरकारले जमिनमुनि राखेर गाडिदिने गर्छ,’ उनले भने ।
सुनारले साउदी अरबमा नेपाली राजदूतावास निर्माणका लागि जग्गा लिइएको भन्ने जानकारी पाएको उल्लेख गर्दै दूतावास निर्माण भएमा नेपाली कामदारलाई सेवा प्रवाह गर्न सहज हुने बताए । कामदारका समस्या समाधानका लागि कानुनी सहायता टोली आवश्यक रहेको उनको भनाइ छ ।
उनले राजदूतका रूपमा कार्यकालमा गर्नुपर्ने काम समेटेर चार वर्षे कार्ययोजना बुझाएको जानकारी पनि दिए ।
‘मैले चार वर्षमा गर्नुपर्ने कार्यपत्र बुझाएको छु। त्यसमध्ये पहिलो ३० दिनमा मैले पेन्डिङ केसहरू अडिट गर्छु,’ उनले भने, ‘कामदारको पासपोर्टहरूको समस्यालाई समाधान गर्न द्रुतगतिमा काम अगाडि बढाउँछु।’
सुनारले नेपाली कामदारका समस्या समाधान, कानुनी सहायता, व्यापार विस्तार र लगानी प्रवद्र्धनलाई आफ्नो कार्ययोजनामा समेटेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।