



काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जनामात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन्। खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तैकुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् ।
निर्वाचित हुनेमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। विनिता खड्का विजेता भए पनि उनीमाथि अदालतमा मुद्धा रहेकाले हाललाई उनलाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६ मत पाएकी छिन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।