काडमाडौं- बैंक तथा वित्तीय संस्थाहरुबाट चालु आवको पुस मसान्तसम्ममा निजी क्षेत्रमा प्रवाह भएको १२ दशमलव ७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाह भएको कर्जा ११ दशमलव ९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा ११ दशमलव ९ प्रतिशत, विकास बैंकहरुको १९ दशमलव ८ प्रतिशत र वित्त कम्पनीहरुको १० दशमलव २ प्रतिशतले बढेको छ।
वार्षिक बिन्दूगत आधारमा २०७५ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २३ दशमलव ४ प्रतिशतले बढेको छ।
२०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३ दशमलव १ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
गत वर्ष २०७४ पुस मसान्तमा यस्तो धितोमा प्रवाह भएको कर्जाको अनुपात क्रमशः ६१ दशमलव ३ प्रतिशत र १४ दशमलव ५ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको आवधिक कर्जा १५ दशमलव ५ प्रतिशत, ओभरड्राफ्ट कर्जा १० दशमलव १ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३ दशमलव १ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा १८ दशमलव ७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६ दशमलव २ प्रतिशत, मार्जिन प्रकृति कर्जा २ दशमलव १ प्रतिशतले तथा हायर पर्चेज कर्जा ६ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।