पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताबारे चासो बढिरहेका बेला फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ।
लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रूपमा हेरेको छ।
गत सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको फ्लाई दुबईले छोटो अवधिमै उल्लेख्य यात्रु आवागमन गराएको छ। विमानस्थलको तथ्याङ्कअनुसार सेप्टेम्बर २३ देखि अक्टोबर १२ सम्मका २० दिनमध्ये १९ दिन उडान सञ्चालन भएको थियो। एक दिन प्रतिकूल मौसमका कारण उडान रोकिएको थियो।
उक्त अवधिमा फ्लाई दुबईमार्फत ३ हजार ११३ जना यात्रु पोखरा आएका छन् भने १ हजार ४२३ जना पोखराबाट दुबई गएका छन्। यसअनुसार दुवैतर्फ गरी कुल ४ हजार ५३६ यात्रुले हवाई सेवा प्रयोग गरेका छन्।
पोखरा आएका यात्रुमध्ये २ हजार ८१५ जना नेपाली, २८१ जना विदेशी र १७ जना शिशु रहेका छन्। त्यसैगरी, पोखराबाट दुबई प्रस्थान गर्नेमा १ हजार २४८ जना नेपाली, १७० जना विदेशी र पाँच जना शिशु रहेको विमानस्थलको तथ्याङ्क छ।
उडान सुरु भएको पहिलो आठ दिन अर्थात् सेप्टेम्बर २३ देखि ३० सम्म १ हजार १०२ जना पोखरा आएका थिए भने ६६५ जना दुबई गएका थिए। अक्टोबर १ देखि १२ सम्मको १२ दिनमा पोखरा आउने यात्रुको सङ्ख्या बढेर २ हजार ११ पुगेको छ। सोही अवधिमा ७५८ जना यात्रु पोखराबाट दुबई प्रस्थान गरेका छन्।
पोखराबाटै दुबईसम्म सिधा हवाई सेवा उपलब्ध हुँदा वैदेशिक रोजगारी, पारिवारिक भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय यात्राका लागि यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। दुबईलाई पारवहन केन्द्र बनाएर अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुका लागि समेत यो सेवा उपयोगी हुन सक्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले पोखरा–दुबई सिधा उडानलाई पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुभएको छ। यसले पोखराको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउन सहयोग पुग्ने उहाँको अपेक्षा छ।
फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गर्नुले हवाई सेवाको निरन्तरताप्रति सकारात्मक सङ्केत दिएको भए पनि बुकिङ खुला हुनु मात्रले सबै उडान सुनिश्चित भएको प्रमाणित गर्दैन। आगामी दिनमा उडानको नियमितता, यात्रुको माग र सेवाको निरन्तरताले पोखरा–दुबई हवाई सम्पर्कको दीर्घकालीन सम्भावना निर्धारण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।