काठमाडौं- चालु आव २०७५/०७६ को ६ महिनामा नेप्से सूचकांकमा १७.७ प्रतिशतले गिरावट आएको छ। २०७४ पुस मसान्तमा १४३१.१ बिन्दूमा रहेको नेप्से सूचकांक १७.७ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा ११७८.० बिन्दुमा झरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बताएको छ।
२०७५ असार मसान्तमा नेप्से सूचकांकमा १२१२.४ बिन्दू रहेको थियो।
धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दूगत आधारमा १४.१ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा १४ खर्ब ३६ अर्ब ६७ करोड कायम भएको छ।
२०७४ पुस मसान्तसम्ममा बजार पूँजीकरण ०.७ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिको बजार पूँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ।
अघिल्लो वर्ष यस्तो अनुपात ६३.३ प्रतिशत रहेको थियो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०२ पुगेको छ।
सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा १७.१ प्रतिशतले वृद्धि भई २०७५ पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ९४ करोड पुगेको छ।
आर्थिक बर्ष २०७५/७६ को ६ महिनामा १४ अर्ब ९९ करोड बराबरको साधारण शेयर ६ अर्ब १९ करोड बराबरको हकप्रद शेयर, ५ अर्ब ८९ करोड बराबरको बोनस शेयर गरी कुल २७ अर्ब ८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।