काठमाडौं- सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ।
काठमाडौं उपत्यकामा बागमती नदी किनारका थापाथली, गुह्येश्वरी लगायत ठाउँका साथै देशका विभिन्न क्षेत्रका पोखरी, जलाशयमा सजाइएका घाटमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिए।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा षष्ठीको दिन सूर्यदेवको विधिपूर्वक आराधना गर्दै अर्घ दिइन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने र यसरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । छठको पहिलो दिन मंगलबार नुहाएर एक छाक खाएका व्रतालुहरुले दोस्रो दिन सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरुप खाएर एक छाक फलाहार गरेका थिए।

छठको मुख्य दिन षष्ठीमा निराहार व्रत गरी साँझको सूर्यलाई पूजा-आराधना गरिने र रातभर जागा बस्ने प्रचलन छ । सप्तमीको बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएपछि यो पर्व समापन हुन्छ । काठमाडौंको गुह्येश्वरीस्थित बागमती नदी किनारमा सजाइएको घाटमा बिहीबार साँझ छठी माईको पूजा र सूर्यलाई अर्घ दिइएको झलकहरु:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।