खाँदबारी- संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको विद्युत गृहस्थलमा ३ वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम सारुमगर घटनास्थल पुगेका छन्।
बम विस्फोटबाट पानी निकाल्ने सुरुङमा रहेको ब्रुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरिक्षक पण्डितले बताए।हाल घटनास्थलमा प्रहरी र सेनाको टोली खटाइएकाे छ।
बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ।
सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको विस्तृत विवरण आउन बाँकी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।