काठमाडौं। साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा आगलागी भएको छ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन्। यसैबीच, इरानसमर्थित हुती विद्रोही र उनीहरूविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनबीच आक्रमण–प्रत्याक्रमण तीव्र बनेको छ।
साउदी नागरिक सुरक्षा निकायका अनुसार हुथी विद्रोहीले प्रहार गरेका दुई क्षेप्यास्त्रलाई आकाशमै निष्क्रिय पारिएपछि तिनका अवशेष राजधानी रियादका आवासीय क्षेत्रमा खसेका थिए। घटनामा चार जना घाइते भएका छन् भने १५ वटा घरमा क्षति पुगेको छ।
साउदी नेतृत्वको गठबन्धनले मंगलबार यमनको राजधानी सानामा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा हवाई आक्रमण गरेको छ। हुथी विद्रोहीद्वारा सञ्चालित अल मसिरा टेलिभिजन र स्थानीय बासिन्दाले पनि आक्रमण भएको पुष्टि गरेका छन्।
गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीले आक्रमण हुनुअघि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए। उनले हुथी विद्रोहीले यमन आयल कम्पनीको परिसर र भूमिगत इन्धन भण्डारण केन्द्रलाई क्षेप्यास्त्र तथा ड्रोनको भण्डारका रूपमा प्रयोग गरिरहेको आरोप लगाए।
सानाको पहाडमा रहेको यमन आयल कम्पनीको परिसर र आसपासका भण्डारण क्षेत्रमा सम्भावित आक्रमणबारे गठबन्धनले सर्वसाधारणलाई सचेत गराएको थियो। त्यसअघि सहरको पश्चिममा रहेको सुबाहा इन्धन केन्द्रमा पनि हवाई आक्रमण भएको थियो। सानाका बासिन्दाले विस्फोटका ठूला आवाज सुनिएको बताएका छन्।
हुथी विद्रोहीले भने आफ्ना इन्धन भण्डारण केन्द्र खाली रहेको र साउदी आक्रमणबाट तेलको मौज्दात वा सर्वसाधारणका लागि हुने आपूर्तिमा असर नपर्ने दाबी गरेका छन्। यद्यपि, सम्भावित अभावको डरले केही पेट्रोल पम्पमा सवारीसाधनको लाम लागेको स्थानीय बासिन्दाले बताएका छन्।
गठबन्धनको चेतावनीपछि हुथी सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले सामाजिक सञ्जाल टेलिग्राममार्फत सानामा साउदी आक्रमण भए रियादमा त्यसको कडा र पीडादायी जवाफ दिइने चेतावनी दिएका थिए।
त्यसको केही घण्टापछि साउदी अरबले रियाद र पूर्वी प्रान्ततर्फ आउँदै गरेका क्षेप्यास्त्रबारे सुरक्षा सतर्कता जारी गरेको थियो। तर, केही समयपछि खतरा टरेको जनाइएको थियो। गठबन्धनले रियादसहित देशका विभिन्न क्षेत्रमा हुती विद्रोहीले प्रहार गरेका ब्यालिस्टिक क्षेप्यास्त्र, ड्रोन र क्रुज क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेको छ। रियादका बासिन्दाले विस्फोटका ठूला आवाज सुनिएको बताएका छन्।
उडानमा असर, हजारौँ उडान रद्द
आक्रमणको जोखिम बढेपछि मंगलबार केही विमान कम्पनीले बीमा कम्पनी र सरकारी अधिकारीको सल्लाहमा आफ्ना विमान रियादबाट अन्य विमानस्थलमा सारेका छन्। यसबाट यात्रु सेवा निरन्तर सञ्चालन गर्न सकिने विमान सुरक्षा सल्लाहकार संस्था ओस्प्रे फ्लाइट सोलुसन्सका प्रमुख गुप्तचर अधिकारी म्याथ्यु बोरीले बताएका छन्।
उड्डयन विश्लेषण संस्था सिरियमका अनुसार अक्टोबर ८ यता साउदी अरबका विमानस्थलबाट उड्ने निर्धारित उडानमध्ये ३ हजार १२० भन्दा बढी रद्द भएका छन् वा सञ्चालनमा नरहेको सूचीमा राखिएका छन्। यो कुल निर्धारित उडानको करिब ४१ प्रतिशत हो। यसमा बुधबारका लागि निर्धारित ३०० भन्दा बढी उडान पनि समावेश छन्।
हुथी विद्रोहीका आक्रमणको जोखिमका कारण केही विमान कम्पनीले साउदी अरबका लागि उडान सेवा स्थगित गरेका छन्।
यमनमा मंगलबार भएको पछिल्लो हवाई आक्रमण सैन्य कारबाही थप विस्तार गर्ने संकेत हो वा रियाद विमानस्थलमा भएका पछिल्ला घातक आक्रमणको सीमित जवाफ हो भन्ने स्पष्ट भइसकेको छैन।
वासिङ्टनस्थित न्यू अमेरिका संस्थाका अनुसन्धाता एडम ब्यारोनका अनुसार साउदी अरबले हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रको भित्री भागसम्म आक्रमण विस्तार गर्न खोजेको देखिन्छ। उनका अनुसार साउदी पक्षले आफूलाई विद्रोहीभन्दा बढी सावधानी अपनाउने र मानवीय पक्षको ख्याल गर्ने पक्षका रूपमा प्रस्तुत गर्ने प्रयास पनि गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।