काठमाडौ - आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटिएको हो।
नेपालले ८ विकेट नोक्सानीमा २६३ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय अर्जुन कुमालले ५९ बलमा ४० रन र आसिफ शेखले ४ रन बनाए। त्यस्तै ईशान पाण्डेले ३७, रोहित पौडेलले ६१, बसिर अहमदले ३७, दीपेन्द्र सिंह ऐरीले २२, सन्दिप जोरा १० र नन्दन यादवले ७ रन बनाए। आक्रामक खेलेका करण केसीले १६ बलमा ४ छक्का र एक चौका प्रहार गर्दै ४० रन जोडे। नेपालले ५ अतिरिक्त रन पाएको थियो।
बलिङतर्फ ओमानका शाह फैजल, शकिल अहमद र करण सोनावाले समान २ विकेट तथा हसनेन शाहले १ विकेट लिए।
२६४ रनको लक्ष्य पछ्याएको ओमानका लागि कप्तान विनायक शुक्लाले ७७, जय ओडेड्रा २५ तथा जतिन्दर सिंहले १८ रन बनाउनेबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालले ओमानलाई अतिरिक्त ९ रन दिएको थियो।
बलिङतर्फ नेपालका नन्दन र सन्दीप लामिछानेले समान ३ तथा दीपेन्द्र २, करण केसी र ललित राजवंशीले समान १ विकेट झारे।
लिग २ को अंक तालिकामा नेपालले १३ जित र १९ हारपछि ३४ खेलबाट २८ अंक जोडेको छ। ओमानले १५ जित र १२ हारपछि ३० खेलबाट ३३ अंक जोडेको छ।
नेपाल छैठौँ र ओमान चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।