काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचनाको घेरामा परेका छन्।
उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ।
सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो खगेन्द्रको भएको जिकिर सहित सार्वजनिक गरेको हो । केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ।
अडियोमा उनले प्रयोग गरेका शब्दहरूले अमर्यादित भाषाको छ। सीमा नाघेको। यससँगै उनको चौतर्फी आलोचना भइरहेको छ। घटना सार्वजनिक भएसँगै सांसद सुनारले पदबाट राजीनामा दिनुपर्ने र उनीमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने आवाज समेत उठेको छ । विवादमा तानिएपछि सांसद सुनारले आफ्नो फोन ‘स्वीच अफ’ गरेका छन् ।
यता, सुनार विवादमा तानिए विषयमा पार्टीको धारणा बुझ्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । आफू काठमाडौँ बाहिर रहेको र उक्त विषयमा पूर्ण जानकारी नभएको बताउँदै उनले पछि बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने भन्दै पन्छिए ।
सांसद सुनार यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका छन्। प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्तिसम्बन्धी प्रकरणमा नाम जोडिनु तथा गाईसम्बन्धी अभिव्यक्तिका कारण उनी पटक–पटक चर्चामा आएका थिए।
रास्वपाले आफ्ना सांसदमाथि प्रश्न उठिसकेपछि अब कसरी कारबाही प्रक्रिया अघि बढाउँछ त्यो चासोको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।