काठमाडौं- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सबै सरकारी निकायलाई आगामी तीन महिना भित्र लेखापरीक्षण गराउन निर्देशन दिएको छ।
समितिको बिहिबार बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सबै सरकारी निकायलाई आगामी तीन महीनाभित्र लेखापरीक्षण निर्देशन दिएको हो।
समितिले गत पुष १९ गते विभिन्न मन्त्रालय तथा निकायमा भएको बेरुजु छानबिन गर्न बुधबार ८ वटा उपसमितिहरु गठन गरी छलफल अगाडि बढाएको छ। बिहिबार विभिन्न मन्त्रालयका सचिवलगायत संवैधानिक निकायका सचिवसँगको छलफलपछि समितिले बेरुजु नआउने गरी आर्थिक कारोबार सञ्चालन गर्ने अधिकारी (कर्मचारी) र बेरुजु कायम गर्न/गराउन भूमिका खेल्ने कर्मचारीको अभिलेख राखी सरुवा, पदस्थापन तथा अन्य वृत्ति विकासका अवसर प्रदान गर्दा त्यसलाई आधार बनाउने गरी मापदण्ड निर्धारण गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
बेरुजु कायम हुने तर्फभन्दा कायम भएको बेरुजु फर्स्योट गर्नेतर्फ जोड दिने प्रवृत्ति देखिएकाले आर्थिक कारोबार सञ्चालन गर्दा कमभन्दा कम बेरुजु कायम गर्ने गराउनेतर्फ ध्यान दिन मन्त्रालय, आयोग तथा सचिवालयलाई निर्देशन दिने निर्णय समितीले गरेको सार्वजनिक लेखा समितिका सभापति भरत शाहले बताए।
बेरुजु फर्स्योट सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरुको अनिवार्य कार्यान्वयन गर्न र दुई महिनामा समितिमा प्रतिवेदन पेस गर्न मन्त्रालय, संवैधानिक निकाय, आयोग, विकास समिति तथा सचिवालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।