रसुवा– रसुवामा चार दशकदेखि लोप भएको जरायो नाच युवाहरुको सक्रियतामा सुरु गरिएको छ।
हरेक वर्ष भाइटीकापछिको पहिलो मंगलबारका दिन देखाउने गरिएको यो नाच २०३५ सालपछि एकाएक बन्द भएको थियो । ४० वर्षपछि ब्यूँताइएको नाच मंगलबार सदरमुकाम धुन्चेमा प्रदर्शन गरियो।

पहिलेका मानिसहरु बितेर गए पनि संस्कृति मर्न नदिन तामाङ समुदायले मिलेर परम्परागत नाच देखाएको स्थानीय लामा दावा पेम्बा तामाङले बताए । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह धुन्चेले तामाङ समुदायको चार वटा समूह बनाएर नाच प्रस्तुत गरेको थियो।

यो नाचमा वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकालाई कथानक रुपमा प्रस्तुत गरिएको छ । तिब्बती भाषामा स्यावा भनिने उक्त नाचलाई नेपालीमा जरायो भनिन्छ । यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ । लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउने यो नाचको विशेषता रहेको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।