काठमाडौं- श्रद्धा भक्तिपूर्वक सूर्यदेवको आराधना र पूजा गरी मनाइने छठ पर्वको रौनक राजधानीमा पनि देखिएको छ। विशेषगरी तराईमा धुमधामका साथ मनाइने यो पर्वले पछिल्ला वर्ष पहाडमा पनि खुसीयाली छर्न थालेको छ। मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ पछि काठमाडौँ लगायत पहाडी जिल्लामा समेत मनाउन थालिएको छ। २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिँदै आएको छ।
कात्तिक शुक्ल पञ्चमी (आज) का दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ। यसलाई खरना भन्ने गरिन्छ। षष्ठीका दिन (भोलि) व्रतालुबाट ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ। साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गइने र डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ। अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यही रात बिताइन्छ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ। उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइन्छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा ब्रतालुहरूले लगाएको लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ।
राजधानीका मुख्य नदी किनारमा यतिबेला छठपूजाको तयारी गर्न थालिएको छ। पशुपतिनाथ मन्दिर परिसर बागमती नदी किनारमा छठको तयारीका लागि बनाइएको संरचना-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।