राष्ट्रिय एकता दिवसमा सरकारले सार्वजनिक बिदा नदिने

नेपाल लाइभ | २०७५ पौष २६ बिहीबार | Thursday, January 10, 2019 १७:०२:०० मा प्रकाशित

काठमाडौं- सरकारले पुस २७ अर्थात् ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक बिदा नदिने भएको छ।

सरकारक निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने,‘राष्ट्रिय एकता दिवसका लागि बिदा दिनु पर्दैन। यो मनाएर दर्शाउने हो, यसका लागि बिदा आवश्यक पर्दैन।’

विभिन्न पक्षले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिनुपर्ने माग गर्दै  आएका छन्।

इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा वि.स २०१२ सालदेखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको थियो।

पञ्चायतकालमा यस दिवसलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा मनाउने गरिएको थियो।  यद्यपि २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि यो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्थ्यो।

तर, हाल यो दिवस राष्ट्रिय दिवसको रूपमा भने मनाउन छोडिएको छ।