हेटौडा– हेटौडा–९ की कमला मिजार स्थानीय एक उद्योगमा कार्यरत छिन्। छोराको असाध्यै माया गर्ने मिजारले छोरा विश्वासलाई पकेट खर्चको रुपमा दैनिक एक/दुई सय रुपैयाँ दिन कन्जुस्याइँ गरिनन्। आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च पनि दिइन्।
तर, कक्षा ९ मा पढ्दै गरेका विश्वासको दैनिकीका सम्बन्धमा उनले चासौ नै राखिनन्। नत आफूले दिएको खर्चवापतको रकम छोराले केका लागि खर्च गरिरहेको छ भन्ने हेक्का राखिनन्। आफू घर आउँदा छोरा घरमै हुन्थे, आमा कमलालाई त्यसले गर्दा पनि शंका गर्नुपर्ने अवस्था आएन। समयक्रमसँगै बिस्तारै विश्वास धेरै सुत्ने र आँखा रातो–रातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहा लाग्यो। त्यो समय भने कमला छाँगाबाट खसेको जस्तै भइन्।
त्यसपछि भने उनले विश्वासका पुराना गतिविधि केलाउन थालिन्। बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू काममा गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उनले धेरै नै कुर्नुपर्यो।
छोराले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उनले अस्पताल मात्र होइन, कथित ‘माता’ कहाँसमेत धाइन्। माताले छोरालाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको भएन। पछि आफन्तको सल्लाहमा कमलाले सौजन डिसीसँग भेट गरिन्। डिसी लागुपदार्थ पूर्व प्रयोगकर्ता भएपनि अहिले उनी दुव्र्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन्।
अन्ततः डिसीले नै विश्वासलाई दुव्र्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए।
प्रसस्त पैसा र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि फस्न सक्छन् भन्ने उदाहारण हो – कमला मिजार र उनका छोरा विश्वासको सत्यकथा।
जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा बेलिविस्तार लगाइन्। आमाले बोलिरहँदा छोरा विश्वास भने आडैमा बसेर मुसुमुुसु हाँस्दै आमाको भिडियो खिच्नमा व्यवस्ता देखिन्थे।
जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७ सय २० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन्। अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या ५ हजारभन्दा माथि छ। मकवानपुरमा ६ वटा पुनस्र्थापना केन्द्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।