काठमाडौं– कुमारी बैंकले लगानीकर्तालाई ८ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंक सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो।
कुमारी बैंकमा काष्ठमण्डप, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमान्चल फाइनान्स गाभिएको हुँदा यसमा लाभकर नलाग्ने बैंकले जनाएको छ।
बैंकको हाल ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। उक्त पूँजीको ६० करोड ८८ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरिएको हो। उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुग्ने छ।
गत आर्थिक वर्ष २०७४÷०७५ को नाफा वितरण प्रस्तावपछि पनि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८ अर्ब पुग्ने छैन। यद्यपि चुक्ता पूँजी पुर्याउन सुरुमा कठोर देखिएको नेपाल राष्ट्र बैंक पटक–पटक लचिलो बन्दै आएको छ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।