काठमाडौं- सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीलाई नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा पुन: रकम जम्मा गर्न आदेश गरेको छ।
व्यापारी सुमार्गीले मुक्तिश्री सिमेन्टका लागि भन्दै विदेशबाट भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि यसअघि एकल इजलासबाट अल्पकालीन आदेश गराउँदै उनले झिकेका थिए।
प्रधानन्यायाधीसहितको पूर्ण इजलासले उनले झिकेको रकम शंकास्पद देखिएको भन्दै जम्मा गर्न आदेश गरेको हो।
बिहीबार सार्वजनिक भएको लिखित आदेशमा यसअघि जारी भएको अल्पकालीन आदेश कानुन, न्याय र अदालतले अनुसरण गर्दै प्रक्रियाको नमिलको भन्दै रकम जम्मा गर्न भनिएको छ। सर्वोच्चको यो आदेशपछि सुमार्गीले अल्पकालीन आदेशको भरमा झिकेको रकम अवैध भएकाले पुन: जम्मा गर्नुपर्ने देखिएको छ।
‘काुनन बमोजिम रकम नेपाल भित्र्याएको हो वा होइन भन्ने प्रश्न अनुत्तरित्त अवस्थामा रहेकाले कानुन बमोजिम जे जस्तो प्रक्रिया अवलम्बन गरी उक्त रकम इन्भेष्टमेन्ट बैंकमा जम्मा गर्नू,’ आदेशमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको पत्रमा रकम पठाउने अजय सुमार्गी र प्राप्त गर्ने उनकै स्वामित्वको मुक्तिश्री कम्पनी रहेकाले विदेशी ऋण भन्न सक्ने अवस्था नभई शंकास्पद देखिन्छ।’
सर्वाेच्चको पूर्ण इजलासले यो रकमलाई विवादित समेत भनेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आनन्दमोहन भट्टराईको इजलासले यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश त्रुटिपूर्ण भन्दै अन्तरिम खारेज हुने निर्णय पुस २४ गते सुनाएको थियो।
पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको अन्तरिम आदेश जारी भएलगत्तै सुमार्गीले २ अर्ब रकम नेपाल इन्भेष्टमेन्ट बैंकबाट पुस २१ गते निकालेका थिए।
राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएपछि सुमार्गी मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम भन्दै सर्वोच्च पुगेका थिए।
सर्वोच्चको आदेशपछि रकम दिन आनाकानी गर्दा अपहेलना मुद्दामा जान बाध्य नपार्न भनेपछि बैंकले रकम खुला गरिदिएको हो।
सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
सुमार्गीले यस पटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये २ अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्।
सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।
खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धरासायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।