पथरी– मोरङको बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ। व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन–कुन किसिमका उद्योगलाई के–कति कर लगाउने भन्नेबारे सुझाव पेस गरेको थियो। ‘उद्योगबाट लिँदै आएको व्यवसाय कर यसै आर्थिक वर्षदेखि हटाउँछौँ,’ उनले भने। मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले व्यवसाय कर घटाउन बारम्बार दबाब दिँदै आएको थियो।
अब कुटिर उद्योगले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। यसअघि ती उद्योगले १० हजार रुपैयाँ तिर्दैआएका थिए।बूढीगङ्गामा १६ घरेलु उद्योग छन्। साना उद्योगले अब वार्षिक ५० हजार रुपैयाँ मात्रै कर तिनुपर्ने छ। यसअघि १ लाख रुपैयाँ व्यवसाय कर तिर्दै आएका थिए।
बूढीगङ्गामा १९ मझौला र ५४ साना उद्योग रहेको प्रमुख प्रशाशकीय अधिकृत विनोद न्यौपानेले बताए।
गाउँपालिकामा रहेका ठूला उद्योग आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयललाई प्रतिउद्योग ५ लाख रुपैयाँ व्यवसाय कर तोकिएको न्यौपानेले जानकारी दिए।
‘गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुने छ र व्यवसाय करको परिमार्जित दर कार्यान्वयनमा आउने छ’, अध्यक्ष चौधरीले भने। व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने अध्यक्ष चौधरीले बताए।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्य करसमेत घटाउन माग गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।