काठमाडौं– मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ।
आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सातवटा इमिरेट्समा रहेका ८ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो।
मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झै–झगडाका कारण १ सय १६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ।
त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन्।
साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा ८ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन्।
फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न ७, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न ५ र अन्य कानुनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ।
२२ नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए।
दूतावासका अनुसार १ सय ८८ पुरुष र १२ महिला कारागारमा रहेका छन्।
सारजाह सेन्ट्रल कारागारमा ७ पुरुष र ३ महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र ४ महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र ४ महिला तथा अजमान सेन्ट्रल कारागारामा ४ पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ।
रसअल खैइमा सेन्ट्रल कारागारमा ४ पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक/एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।