न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल मंगलबार न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको छ। उद्घाटन सत्रमा नेपाली प्रतिनिधिमण्डलसहित परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन्।
मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारी उद्घाटन सत्रमा उपस्थित थिए।
महासभाको उच्चस्तरीय छलफल अवधिभर खनालले विभिन्न मन्त्रीस्तरीय बैठक, उच्चस्तरीय छलफल र साइड इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ। उनले विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्। उनले सोमबारदेखि नै भेटवार्ता सुरु गरिसकेका छन्।
महासभाका क्रममा नेपालले ‘सगरमाथा टु सी’ साइड इभेन्ट आयोजना गर्दैछ। कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का विषय उठाइनेछ।
खनालले अति कम विकसित, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न आन्दोलन तथा जी–७७ र चीनका मन्त्रीस्तरीय बैठकमा समेत सहभागिता जनाउनेछन्।
उच्चस्तरीय छलफल सेप्टेम्बर २८ सम्म चल्नेछ। प्रधानमन्त्री वालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।