काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि अमेरिकी सरकारसँग सहयोग मागेको छ।
संघका अध्यक्ष सतेन्द्र शाहले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पत्र पठाउँदै तत्काल मानवीय सहायता तथा दीर्घकालीन पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेका हुन्।
गत अगस्ट २६ मा आएको भोटेकोशी बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना, घर तथा अन्य महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सरकारले पनि विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको छ।
संघले अमेरिकी सरकारसँग प्रभावितका लागि खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र अन्य आवश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ। त्यस्तै, क्षतिग्रस्त घर, सडक, पुल, ऊर्जा तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्न पनि माग गरिएको छ।
बाढी, पहिरो तथा हिमनदीजन्य जोखिमको निगरानी र पूर्वसूचनाका लागि आधुनिक प्रणाली विकास, विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम र उपकरण उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ।
संघले विपद् जोखिम न्यूनीकरण तथा जलवायुजन्य जोखिमको सामना गर्न दीर्घकालीन सहयोग आवश्यक रहेको जनाएको छ। नेपाली समुदायसँग मिलेर राहत तथा सहयोग जुटाउने प्रयास भइरहेको भए पनि विपद्को व्यापकता र क्षतिको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको संघको भनाइ छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरिकी विदेश मन्त्रालय, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) लगायत सम्बन्धित निकायसँग समन्वय गरी नेपालको विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सरकारसँग आग्रह गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।