-हिमांशु चौधरी
छठ माए अएलीह दुअरिया सजाओल हे
पोखरि खुना सजाओल हे
सूर्य उपासनाको विस्तारित रुप छठ पर्वको सन्देशमूलक यो गीत यत्रतत्र गुन्जित भइरहेको छ । धार्मिक एवं वैज्ञानिक महत्व, सामजिकता ,सांस्कृतिक सद्भाव एकरुपता , आार्थिक र कृषि क्रान्तिको परिवेशबोधक छठ पर्वका लागि नदी र पोखरीमा घाट निर्माण र सवावटको कार्य अन्तिम चरणमा पुगि सकेको सन्देश यो गीतले दिइरहेको छ ।
मूल विधि चतुर्थीदेखि शुरू भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजापाठ गर्दा सन्तान प्राप्ति , निरोगिता , सुख समृद्धि र चर्मरोग हुने जनविश्वास अनुरूप यो पर्व कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित रहेकोमा कालान्तरमा देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।
सूर्य उपासना र पूजाको विभिन्न उदाहरण भए पनि ५ हजार ईसापूर्व याज्ञवल्क्यले सूर्य उपासना गरेको तथ्यगत अवस्थाले मूलतः यसलाई मिथिलाको मानिदै आएको छ कालक्रममा १ हजारदेखि ६ सय ईसापूर्वमा बज्जिका संघका सदस्य मिथिला र वैशाली दुबै भएपछि कला संस्कृति मिसिएपछि गंगाघाटीसम्म मनाइँदै आएको छ । नेपालमा लिच्छवि कालदेखि सूर्य उपासनाको प्रादुर्भाव भएको प्रमाण काठमाडौंको सूर्य मूर्तिहरुले पुष्टि गर्दछ ।यसरी वैदिक अनादि कालदेखि मनाइँदै आएको यो पर्व वर्तमानमा आस्था एवं सामाजिक स्वरुप ग्रहण गरेको पाइन्छ ।
सूर्य ब्रह्माण्डको विशाल र महत्वपूर्ण अवयव रहेको पृष्ठभूमिमा सूर्य पूजाको परम्परा सबै सभ्यता ,धर्म ,समुदाय र युगमा पाइन्छ । बेबीलोनका निवासीहरूले सूर्यलाई अपोलो, जर्मनी, लिथिनियामा सूर्यलाई देवी ,जापानीहरू इजानागी र इजानामीलाई आदि पुरूष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरूष , आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् भने मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ । द बुक अफ रेगुलेशन भन्ने बाइबलको एउटा अध्यायमा आदिशक्ति सूर्यका बारेमा उल्लेख छ । सृष्टिको मूल , उर्जाको स्रोत र जीवन आदिशक्ति सूर्य भएको सिद्ध हुन्छ । यसलाई देवी – देवताको रुपमा आराधना गर्ने चलन रहेको छ । कतै देवी , कतै देवताका रुपमा आराधना गरिने क्रममा वेदमा मानवको कल्याण गर्ने प्राकृतिक स्रोतलाई देवी–देवताको रुपमा कल्पना गरिएको पाइन्छ ।जर्मनी भाषामा सूर्यलाई देवी नै भनिएको छ । मिथिलाञ्चलमा भने पुराणको प्रसंगका आधारमा सूर्यलाई देवी र देवताका रुपमा आराधना गर्ने मान्यता छ ।
मानवलाई सर्वप्रथम उज्यालो दिने , जिउमा गर्मी उत्पन्न गर्ने , रोगव्याधिबाट जोगाउने सूर्य नै भएकाले स्वभावतः मानव सूर्यप्रति आकर्षित भइ सूर्य आराधनाको क्रम शुरू भएको मान्यता पाइन्छ । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।
सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ,“ हे आकाशकी छोरी उषा मलाई अन्न , धन , छोराछोरी देउ ,वरदान देउ कि म सधैं बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौं ।” सूर्यौपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगतको पति भनी सम्बोधन पनि गरिएको छ ।
यो पर्व कबुला (भाकल) गरेअनुसार गरिन्छ , भाकल नगरी यो व्रत गरिदैंन । भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कोही अरूको हातबाट अर्घदान गराउने भाकल गरेका हुन्छनु भने कोही आफै व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अर्घ चढाउनेदेखि जोडा अर्घका साथै पूर्णप्रति अर्घदान गर्ने समेत भाकल गरिएका हुन्छन् ।
यसमा कोसिया , कुरबार , छिट्टा ,अर्घ इत्यादि सबैथोक दुई–दुई प्रति चाहिने हुन्छ ।यस्तै माटोका हात्तीमाथि अर्घ चढाउने , आँगनमा तथा घाटमा आँचलमाथि नटुआ नाच गराउने , बाजा बजाएर अर्घदान गर्ने , भीख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ । त्यस्तै साधारणतः अर्घ दिने , पानीमा उभिने , घरदेखि घाटसम्म दण्ड दिदै जाने तथा पानीमा उभिने जस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एकवर्षका लागि गर्नुका साथै पाँच वर्ष , दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् ।
व्रतालुले शरीर शुद्धि गर्न नुहाइ भोकै अन्नजल नलिइकन बस्ने दिनलाई खरना भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देवतालाई चढाएर खीर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन । अर्को दिन व्रतालु अन्न र जल बिना उपवास गर्छन र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिइ घर फर्की बिहानीपख उदाँउदो सुर्यलाई अर्घ दिइ उपवास तोडछन् , यसलाई पारण भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा व्रतालु सूर्यको प्रार्थना गर्दै गाउँछन् :
आन दिन त उगलह हे दीनानाथ भोरे भिनसरवा
आजुक दिनमा हे दीनानाथ कतए लागल बेर.....।
अर्थात् हे दीनानाथ अन्य दिन त बिहानै उदाउनुहुन्थ्यो तर आज किन यत्रोबेला भइसक्दा पनि उदाउनुभएन ? गीतको लामो शृंखला चल्छ । मूलतः छठ गीतमा पर्वको विशिष्टता , पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ ।
छठ पर्वको पवित्रतासँग सम्बन्धित एउटा गीतमा अर्घका लागि राखिएको केराको घरीमाथि उडिरहेको सुुगालाई हकार्दै यसरी भनिएको छ :
उजे केरबा फरल घओंद से
आइ पर सुगा मरडाए
उजे मारबौ रे सुगबा धनुख से
सुगा गीरे मुरिछाए
उजे सुगनी जे रोअले वियोग से
आदित होख न सहाए..............
(केरालाई न छोउ है , जुठो नबनाउ । नत्र धनुषवाणले मार्नेछौं , तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन् ,फेरि सूूर्यलाई नै गुहार्नैछिन्– हे सूर्य सहायता गर । ) त्यस्तै बाँझी महिलाले यो व्रत गर्न नसकेकोमा दीनानाथ ( सूर्य ) सँग दुखेसो यसरी पोख्ने गर्छिन :
गहबर निपिते हो दीनानाथ
तरहथिया गेल खिआए
धूपबो जे दैत हो दीनानाथ
चुटुकियो गेल कटाए
तैयो ने छुटल हो दीनानाथ
बझिंनिया परधान .............. ।
( तिम्रो मन्दिरमा पूजा अर्चना गर्दागर्दे थाकी सकें तर बाँझी पद मैले छुटाउन सकिन । )
यस पर्वमा जीव र जगत् एकाकार भइ दुबैको शक्ति मिलेर एउटा नयाँ शक्ति , उर्जा र ओजले नयाँ आकार ग्रहण गरिरहेको हुन्छ । प्रकृतिमा अजस्र शक्ति भएको र सम्भवतः यो चमत्कार व्रतालुको कठोर तपस्या , शुद्धता र पवित्रताले कारणले पनि हुनुपर्छ । अतः यो पर्वमा प्रकृतिबाट गृहिणीले आफ्ना सन्तान ,पति ,परिवारजनलाई शुभशक्ति , शान्ति ,सुमंगल हस्तान्तरण गर्ने शक्तिशाली पर्व पनि हो ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई पर्वको प्रमुख अंशका रूपममा मानिन्छ । यो दिन बिहानैदिेखि चामल र पीठोको ठेकुवा ,कसारलगायत परिकार पकाइन्छ । तयार पारिएका परिकार , पाँच थरिका मिठाइ , उखु , अदुवा , नरिवल , मूला , सुथनी लगायतका प्रसाद बाँसको टोकरी , नाङ्गलो र सुप्पो राखी शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारसहित नजिकका जलाशयमा जान्छन् र व्रतालुु अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । भोलिपल्ट सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पहापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ ।
वैज्ञानिक दृष्टिकोणले छठ अन्तर्गत उपवास , सरसफाई र विशेष अनुशासनले मस्तिष्कलाई निविर्षीकरण (डिटोक्सिफीकेशन ) मा टेवा पु¥याउँछ , आधा शरीर पानीमा डुबाइ उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित रहनु , कौस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्नु , कौस्मिक शक्तिले निष्क्रिय तन्तुलाई सक्रिय पार्ने मान्यता पाइन्छ । वैज्ञानिक रूपले सुर्योदय र सुर्यास्तको बेला मानव सुरक्षिततवरले सौर्य शक्ति प्राप्त गर्न सक्ने तथ्य रहेको छ ।
खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध ,सांस्कृतिक समन्वय र समाजिक सद्भावको मियोका रूपमा रहेको यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो ,यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ । त्यसैले यसलाई आरोग्य र उन्नतिदायक पर्व पनि भनिन्छ । यसमा पुजिने सूर्य र जल दुबै आदि शक्ति हुन् । त्यसैले छठ पर्वले आरोग्य र विशेष गरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास पाइन्छ ।
पुराणमा छठ माता (षष्ठी देवी) र सूर्यको उपासनासँग सम्बन्धित विभिन्न आख्यान पाइन्छ । प्रथम मनु स्वायम्भुवका पुत्र प्रियवर्त र रानी मालिनीको लामो समयसम्म कुनै सन्तान थिएनन् । महर्षि कश्यपको सल्लाहमा राजाले पुत्रेष्टि यज्ञ गरे । यज्ञबो प्रभावले रानीले पुत्र त जन्माइन तर उक्त शिशु मृत जन्मियो । राजा र रानी मृत बालकलाई लिएर मसानघाटमा विलाप गरिरहेका बेला मानसपुत्री षष्ठी देवी प्रकट भइन् । देवीले मृत बालकलाई स्पर्श गरेर जीवित पारिदिइन् । सन्तान प्राप्ति र रक्षा भएको खुशीमा राजाले त्यसै ेबेलादेखि छठ पूजाको परम्परा सुरु भएको मानिन्छ ।
महाभारतकालीन कथा अनुसार पाण्डवहरु जब गुप्तवास र वनवासमा कष्ट भोगिरहेका थिए तब उनीहरको संकट निवारण र गुमेको राज्य फिर्ता पाउनका लागि द्रौपदी धौम्य ऋषिको सल्लाहमा सूर्यदेव र छठी माताको कठोर व्रत पर्वका रुपमा स्थापित भएको मान्यता पनि छ । त्यस्तै सूर्यपुत्र कर्णले सधैं नदीमा उभिएर सूर्यको कडा आराधना गर्ने र अध्र्य दिने गर्दथे । उनी सूर्यको परम भक्त थिए र उनकै सूर्य उपासनाको परम्परा पछि लोकमा छठका रुपमा सथापित भएको विश्वास पनि छ ।
रामायणकालीन कथामा त्रेतायुगममा भगवान श्रीराम १४ वर्षको वनवास पूरा गरेर अयोध्या फर्केपछि लंका विजय र रावण वधको पाप ( ब्रम्ह हत्याको दोष) मुक्ति तथा रामराज्यको स्थापनाका लागि मुनि मुगदलको सल्लाहमा मातासीतासहित कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको व्रत बसी पूजाअर्चना गरेको पाइन्छ ।
अन्य धार्मिक ग्रन्थ र इतिहास अनुसार छठ पर्वको विकास प्र्राचीन वैदिक कालदेखि नै भएको देखिन्छ । ऋग्वेदको प्रथम श्लोकमा नै सूर्य र अग्निको प्रार्थना गरिएको छ । प्राचीन आर्यहरुले प्रकृतिको उर्जा , ताप र जीवनदायी शक्तिको रुपमा सूर्यको पूजा गर्ने परम्परा नै पछि परिमार्जित हुँदै छठका रुपमा विकास भएको धारणा छ ।
मगध र सकलद्वीपीय ब्राह्मणकको इतिहास अन्तर्गत पहिले छठ पर्व प्राचीन मगध वरपर मात्र सीमित थियो । सकलद्वीपीय ब्राह्मणहरुले ( जो आयुर्वेदका चिकित्सक पनि थिए ) कुष्ठरोग जस्ता छालाका गम्भीर रोगको निवारण र सूर्यको किरणबाट प्राप्त आरोग्यका लागि यो पर्वको सुरुवात गरेको उल्लेख छ ।सत्य युगमा अत्रि मुनिकी अनसूया र मिथिलाका ऋषि याज्ञवल्क्यले सूर्यको उपासना गरेको तथ्य छ ।
द्वापर युगको अन्त्यतिर भगवान कृष्णका पुत्र साम्बले पनि चर्मरोगबाट निको हुन सूर्य उपासना गरेको मान्यता छ । सरापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनः प्राप्त गरेकाले नै त्यहीँदेखि सूर्यको आराधना सुरू भएको मत पनि पाइन्छ ।
मिथिला क्षेत्रमा कुनै पनि पूजा ,अनुष्ठान इत्यादि गर्दा आरम्भमा शुद्धीकरण पछि सर्वप्रथम पञ्चदेवता र विष्णुको पूजा गर्ने प्रचलन रहेको छ । पञ्चदेवतामध्ये सूर्य पनि एक हुन् । सूर्यलाई आइतवारको देवताको रूपमा पनि चिनिन्छ ।
आर्य र अनार्यबाट छठ पर्व सुरुवात भएको मान्यता पनि छ । आर्यहरुको पहिलो समूह यहाँ आउने क्रममा इरानमा गहुँका परिकार खाएका थिए ।जसको कुनै नाम थिएन् , त्यस समयमा गोधौ नाम दिइयो । जसको अर्थ इन्द्रियलाई आनन्दित गर्नु हो । गो भनेको इन्द्रिय र धौ भनेको आनन्द रहेकाले गोधौ भन्न थालियो । पछि यसको विस्तारित रुप गहुँ भएको देखिन्छ । आर्य र अनार्यले संयुक्त रुपमा सूर्यको उपासना गर्ने क्रममा गहुँको परिकार प्रसाद स्वरुप चढाउने भएका कारण वर्तमानसम्म चढाइँदै छ ।
छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी , छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी , छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत ,सूर्य षष्ठी पर्व ,रवि षष्ठी व्रत र छठी पर्व उल्लेख छ ।
यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण , सीताराम , गौरीशंकर एक अर्काका पूरक हुन्छ , त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ । सूर्यको पूजा गर्दा षष्ठीका देवी अर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्ठीका देवीलाई अह््लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्क समेत पाइन्छ ।
षष्ठीका देवीलाई कार्तिकेयको पत्नी मानिन्छ र षष्ठीका देवीलाई प्रकृतिको छैठौं अंश र देवसेना पनि भनिएको छ । पौराणिक ग्रन्थहरूमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश अंकको अधिक महत्व रहेको छ । साताको सात दिन , सूर्यदेवको रथमा सात घोडा , सात समुद्र , सात अजुवा , संगीतको सात सुर आदि कुरा सूर्यसँग सम्बन्धित रहेको पुष्टि हुन्छ ।
मानव जीवन र प्रकृति बीचको सम्बन्धलाई प्रस्ट पार्ने यो पर्वले संस्कृतिको संरक्षण पनि गरिरहेको छ । अस्तित्वले निःशुल्क प्रदान गरेका अमूल्य उपहारहरूको क्पहिचान गर्नु र प्रकृतिप्रति आभार र प्रेम प्रवाह गर्नुका साथै स्वयम्भित्र रहेको चैतन्य रूपी आत्माको पहिचानको सन्देश बोकेको छठ पर्वले जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति र धर्मका आस्थावानले छठ पर्व मनाउन सकिने भएकाले आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि छठ पर्व मनाउने गरेको पाइन्छ । छठ पर्वको मूल सन्देश समन्वय,समावेशी र सादगीपन हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गर्नु महत्वपूर्ण पक्ष हो । यसका साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख दुःख रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । कुनै पनि व्यक्तिको कुण्डलीमा अवस्थित सूर्य ग्रहलाई ग्रहको पिता मानिन्छ । त्यसैले सूर्यलाई जल चढाउँदा शान्ति प्राप्त हुने विश्वास विद्यमान रहेको छ ।
सामुदायिक सद्भाव मूल मन्त्र रहेको यस पर्वमा कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वाद स्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ ।
यो सामग्री नेपाल न्यूज बैंकबाट लिइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।