काठमाडौं – चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहान फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र. ०१–०३४ च. ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिएको थियो । जसमध्ये एकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा जिल्ला चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
कारका साथै चालक मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।