काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्ने बताएका छन् ।
देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिगत रूपमा केही पाउनु नरहेको तर पार्टीका लागि सङ्घर्ष गर्नु आफ्नो कर्तव्य भएको बताए ।
उनले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, तर पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्नु मेरो कर्तव्य हो । यो पार्टीलाई म ज्यान दिन पनि तयार छु । हामी सबै सहिदहरूले बनाएको पार्टी हो । यो पार्टी नेपाली जनताले बनाएको पार्टी हो । जनताको त्याग र तपस्याबाट बनेको पार्टी हो । नेपाली जनताका प्रतिनिधिबाहेक अरू कसैले यो पार्टीलाई हाइज्याक गर्न सक्दैन, लान सक्दैन ।’
देउवाले कांग्रेसको विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टी सभापतिको सहमतिबिना गगन थापा सभापति बनेको आरोप लगाए ।
उनले विशेष महाधिवेशनका लागि पार्टीका ४० प्रतिशत सदस्यले हस्ताक्षरसहित माग गर्नुपर्ने र त्यसको प्रमाणीकरण आवश्यक रहेको बताए ।
उनले भने, ‘विशेष अधिवेशन पहिला पनि हाम्रो पार्टीको भएकै हो । त्यसबेला विशेष अधिवेशनको सभापति सुवर्णशमशेर हुनुहुन्थ्यो । बीपी कोइराला सभापति हुनुहुन्नथ्यो, उहाँको समर्थन थियो । अघिल्लो पटकको महाधिवेशनमा को सभापति थियो, थाहै छैन । गगन थापालाई कार्यवाहक सभापति दिएको थिएँ । उपसभापति दिएको थिएँ । सभापति र उपसभापतिलाई विशेष महाधिवेशनको कुराकानी थाहै थिएन ।’
उनले थपे, ‘मैले गगनजीलाई भनेको पनि थिएँ, नियमित महाधिवेशन गर्यौ, के कुराले विशेष गर्ने हुन्छ र ? विशेष गर्न पनि पाइन्छ । ४० प्रतिशत पार्टीका साथीहरूले हस्ताक्षर गरेर पठाए भने गर्नुपर्ने बाध्यता छ । खोइ त, सिग्नेचर भेरिफाइ गर्नुपर्यो नि । विनाप्रमाणीकरण सहीछाप मात्र भन्ने मात्र हैन ।’
देउवाले आफू पार्टी सभापति रहेकै अवस्थामा विशेष महाधिवेशन आयोजना गरेर गगन थापा सभापति बनेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘यहाँ त विशेष महाधिवेशन भनेर गगन थापा सभापति भइसकेछन् । पार्टी सभापति मै छु, मैले हुन्छ भनेकै छैन । उसले बोलाएर विशेष महाधिवेशन गराएर आफू सभापति भइसकेछ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।