



अमेरिका । नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा अमेरिकाको भर्जिनियास्थित अदालतले उनका पति नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ । मंगलबार (१० नोभेम्बर) जुरीले हत्यासहित उनीमाथि लगाइएका तीनवटै अभियोगमा दोषी ठहर गरेको हो ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार जुरीले करिब छ हप्तासम्म चलेको सुनुवाइ र प्रमाणहरूको अध्ययनपछि भट्टलाई दोषी ठहर गरेको हो । मंगलबार करिब पाँच घण्टाको छलफलपछि निर्णय सुनाइएको थियो ।
सीएनएनले आफ्नो समाचारमा लेखेको छ, ‘जुरीले भट्टले अदालतमा दिएको आत्महत्यासम्बन्धी दाबी अस्वीकार गर्दै उनलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ ।’
नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीर अपवित्र बनाएको अभियोगमा दोषी ठहर गरिएको हो ।
अदालतमा नरेशको स्वीकारोक्ति
मुद्दाको सुनुवाइका क्रममा नरेशले दिएको बयानले घटनालाई नयाँ मोड दिएको थियो । उनले ममताको मृत्यु भइसकेको अवस्थामा आफूले शव व्यवस्थापन गरेको स्वीकार गरेका थिए । तर, हत्या गरेको आरोप भने अस्वीकार गरेका थिए ।
उनको दाबीअनुसार सन् २०२४ जुलाई ३० मा घरमा ममता अचेत अवस्थामा भेटिएकी थिइन् । आफूले बचाउने प्रयास गरे पनि सफल नभएपछि डर र त्रासका कारण प्रहरीलाई खबर नगरेको उनले बताएका थिए ।
उनले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका थिए । तर, अभियोजन पक्षले उनको बयानलाई अस्वीकार गर्दै हत्या योजनाबद्ध भएको जिकिर गरेको थियो ।
अमेरिकी टेलिभिजन एनबीसी वासिङ्टनका अनुसार अभियोजन पक्षकी वरिष्ठ सहायक सरकारी वकिल साराह सामीले अन्तिम बहसमा नरेशले ममताको हत्या गरेको र त्यसपछि शव लुकाएको जिकिर गरेकी थिइन् ।
उनले नरेशले ममताको शवलाई फोहोरसरह व्यवहार गरेको भन्दै जुरीलाई दोषी ठहर गर्न आग्रह गरेकी थिइन् ।
तर, प्रतिरक्षा पक्षकी वकिल ट्रेसी लेनोक्सले अभियोजन पक्षले हत्या प्रमाणित गर्न नसकेको दाबी गर्दै शंकाको लाभ दिनुपर्ने तर्क गरेकी थिइन् । उनले ममता वैवाहिक सम्बन्धमा असन्तुष्ट रहेको र पारिवारिक दबाबमा परेको दाबीसमेत गरेकी थिइन् ।
शव नभेटिए पनि हत्या प्रमाणित
ममताको शव अहिलेसम्म फेला परेको छैन । तर, अभियोजन पक्षले फरेन्सिक प्रमाण, निगरानी क्यामेराका दृश्य, डिजिटल विवरण र साक्षीका बयानलाई आधार बनाएर हत्या पुष्टि गर्ने प्रयास गरेको थियो ।
अदालतमा प्रस्तुत प्रमाणमध्ये दम्पतीको घरबाट बरामद गरिएको विद्युतीय आरा, त्यसमा भेटिएका कपालका अवशेष तथा विभिन्न फोहोर व्यवस्थापन केन्द्रमा नरेश पुगेको देखाउने विवरण पनि थिए ।
अमेरिकी सञ्चारमाध्यम फक्स फाइभ डीसीका अनुसार अनुसन्धानका क्रममा नरेशले श्रीमती बेपत्ता हुनुअघि इन्टरनेटमा ‘श्रीमती हराएमा के हुन्छ ?’ र ‘श्रीमती हराएमा सम्बन्धविच्छेद गर्न मिल्छ ?’ जस्ता विषय खोजेको डिजिटल प्रमाण पनि प्रस्तुत गरिएको थियो ।
अभियोजन पक्षले शव फेला नपरे पनि अन्य प्रमाणका आधारमा हत्या प्रमाणित गर्न सकिने तर्क गरेको थियो । जुरीले त्यसलाई स्वीकार गरेको छ ।
मार्च १२ मा सजाय निर्धारण
नरेश भट्टलाई तत्काल अन्तिम सजाय सुनाइएको छैन । अदालतले आगामी १२ मार्च २०२७ मा सजाय निर्धारण गर्ने मिति तोकेको छ ।
सीएनएनका अनुसार प्रथम श्रेणीको हत्यामा उनलाई २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । शवसम्बन्धी अन्य दुई अभियोगमा पनि थप सजाय हुन सक्नेछ ।
फैसला सुनाएपछि अदालतले उनको धरौटी खारेज गरेको छ । उनी हिरासतमै रहनेछन् ।
ममता काफ्ले भट्ट सन् २०२४ जुलाईमा भर्जिनियास्थित आफ्नो निवासबाट बेपत्ता भएकी थिइन् । उनी अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन् । उनको खोजीका क्रममा सुरु भएको अनुसन्धान अन्ततः श्रीमान् नरेश भट्टविरुद्ध हत्या मुद्दामा परिणत भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।