ताप्लेजुङ - ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन् । प्रतिकुल मौसमका बावजुद पुजा गर्ने यो समय मूख्य भएकोले पाथीभरामा भक्तजनहरुको भिड लाग्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङले बताए ।
यसअघि शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभरामा दर्शन गरेका थिए ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।
पाथीभरा पुग्नका लागि यातायातका साधनमार्फत काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलोमिटर पदमार्ग प्रयोग गरेर धामसम्म पुग्न सकिन्छ । पाँच किलोमिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि सहयोगीको समेत व्यवस्था छ ।
समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकांक्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।